धनकुटाको त्रिवेणीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन जना बेपत्ता

धनकुटा FM
९ कार्तिक २०८३, आइतबार

धनकुटा । धनकुटाको त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

आज करिव २ बजे भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना यात्रु लिएर सुनसरीको बराहक्षेत्रस्थित चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भई साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा दुर्घटना हो ।

दुर्घटनापछि प्रहरी टोलीले चालकसहित १२ जनाको उद्धार गरी उपचारका लागि चतरा अस्पताल पठाएको थियो । उपचारका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी अन्दाजी ५२ वर्षीया लिला राई, नामथर र वतन नखुलेकी अन्दाजी ६/७ वर्षीया बालिका र नामथर तथा वतन नखुलेका अन्दाजी ४०/५० वर्षका पुरुष गरी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका–४ निवासी अन्दाजी ३१ वर्षीय मोहन सुनार घाइते भएका छन् । उनको चतरा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पानीबोटमा सवार अन्य यात्रुमध्ये नौ जना सकुशल रहेको र चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी अन्दाजी २४ वर्षीय सुमन मगर प्रहरी चौकी बराहक्षेत्रको नियन्त्रणमा रहेको भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका अन्य यात्रुमध्ये केही पौडी खेलेर तथा उद्धारपछि सकुशल घर फर्किएका छन् । दुर्घटनापछि झापाको कन्काई नगरपालिका–४ की निता मगरका सात वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राई बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बेपत्ताहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमान्डमा १४ जना प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वार्टर धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमान्डमा १६ जनाको टोली परिचालन गरिएको छ ।