धनकुटामा मौसममा सुधार भएसँगै जनजीवन सामान्य बन्दै

धनकुटा FM
१५ कार्तिक २०८३, शनिबार

धनकुटा । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावका कारण प्रभावित बनेको धनकुटामा शनिबार दिउँसोदेखि मौसममा सुधार आएको छ । वर्षा रोकिएर आकाश खुल्न थालेपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको हो ।

चक्रवातको प्रभावका कारण मौसममा आएको परिवर्तनसँगै विहिबारदेखि लगातार भइरहेको वर्षाले सर्वसाधारणको दैनिकी प्रभावित बनेको थियो । तर आज दिउँसोदेखि वर्षा रोकिएको छ भने आकाश खुलेको छ । मौसममा सुधार आएसँगै धनकुटाका मानिसहरू आफ्नो नियमित कामकाजमा फर्किन थालेका छन् ।

धनकुटामा शनिबार दिउँसो ३ बजेदेखि घाम लाग्न थालेको थियो । घाम लाग्न थालेसँगै मानिसहरु घाम ताप्न घर बाहिर निस्किएका थिए । मौसममा सुधार आएसँगै धनकुटा बजारसँगै हिले, पाख्रिबास, सिधुवा, भेडेटार, राजारानी लगायतका क्षेत्रहरुमा चहलपहल बढ्न थालेको छ ।

बिहीबार दिउँसोदेखि छिटफुट पानी परे पनि शुक्रबार बिहानदेखि भने लगातार पानी परेको थियो । सो वर्षाका कारण धनकुटाका ग्रामिण सडकहरु हिलाम्मै भएर सञ्चालनमा आएका छैनन् ।