धनकुटाको पाख्रिबासबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ, ५ दिन हिरासतमा राखियो
धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे पाख्रीबास नगरपालिका–४ स्थित डिपिन गौतमको घरमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
सो टोलीले तास खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट नगद ४१ हजार ५२७ रुपैयाँ र एक बुङ खुला ताससमेत बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका–२ का ३७ वर्षीय टेकनाथ अधिकारी, ३६ वर्षीय नवराज मगर, २७ वर्षीय डिपिन गौतम, ४० वर्षीय ललित राना, ४८ वर्षीय चन्द्रबहादुर राना, २९ वर्षीय निरज श्रेष्ठ, २८ वर्षीय दीपक अधिकारी, ५० वर्षीय धनबहादुर मगर र ३२ वर्षीय तोर्ण मगर रहेका छन् । त्यस्तै, पाख्रीबास नगरपालिका–४ का २४ वर्षीय भीम बस्नेत र चितवनको भरतपुर महानगरपालिका–७ का ३० वर्षीय अर्जुन सुयाल पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका ११ जनालाई बुधबार जिल्ला प्रशासन कार्यालय धनकुटाबाट ‘जुवा खेल्न तथा सट्टेबाजी गर्न नहुने’ मुद्दामा पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस