सुष्मा काफ्लेका कविता : अपेक्षाका त्यान्द्राहरु

सुष्मा काफ्ले
१५ कार्तिक २०८३, शनिबार

तिम्रो त्यो मन पनि हेर गंगा जस्तै लाग्छ
खुल्ला त्यो आकासमा उडने चङ्गा जस्तै लाग्छ
भावनाले छलाङ मारिरहेँ
यी आदतहरु सुन्दर लागिरहेँ
कतै केही भनिरहुँ झै
टाढैबाट जुन तारा गनिरहुँ झै
तिम्रा यादहरु पानीको बहाब जस्तै बगिरहेँ ।

हिउँ जमेसरी मुटुभरी जमिरहेँ
के दिउ म तिमीलाई उपहारमा
यिनै शब्दरुपी अक्षरहरु बाहेक  ???!
के दिउँ म तिमीलाई  ?
बिना रकमका अजम्बरी माया  ?
निस्वार्थ प्रेम  ?
कि निस्वार्थ सम्बन्धका छालहरु  ?
जहाँ …!

कहिले मौनता त कहिले अधिकता
कहिले शुन्यता त कहिले पूर्णता
कहिले मिठास त कहिले यतिकै खास ।

अपेक्षाको लहर नआओस् भन्दाभन्दै
बतासले ल्यादिन्छन् अपेक्षाका त्यान्द्राहरु ।

ए प्रिय ! तिमी आफैँ भन
अपेक्षा गलत कि बतासको नजर  ?
म गलत कि मेरा नयन  ?
प्रेम झुटो कि प्रेमिल मन  ?
संसार झुटो कि संसारिक जगत  ?