तमोर करिडोरमा पर्ने नावा खोलाको बाढीमा फस्यो यात्रुबाहक बस, यात्रुहरुको सुरक्षित उद्धार

धनकुटा FM
१४ कार्तिक २०८३, शुक्रवार

धनकुटा । धनकुटा र पाँचथरको सीमावर्ती क्षेत्रमा पर्ने नावा खोलाको बाढीमा यात्रुबाहक बस खोलामै फसेको छ । यात्रुहरुको भने सुरक्षित उद्धार गरिएको छ ।

बिहीबार विहानैदेखि परेको वर्षाका कारण तमोर नदीमा पानीको सतह बढेपछि हाललाई तमोर करिडोर सडकखण्डमा यातायात सञ्चालन पूर्ण रूपमा बन्द भएको छ । उक्त तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस शुक्रबार अपरान्ह यात्रुबाहक बस फसेको थियो ।

निरन्तर भइरहेको वर्षाका कारण तमोर करिडोरअन्तर्गतको नावा खोलामा बाढी आएका बखत तर्न खोज्द बस फसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बसमा ३० यात्रु सवार थिए । बसबाट यात्रुलाई भने सुरक्षित उद्वार गरिएको छ ।

नावा खोला तमोर करिडोर सडक खण्डअन्तर्गत पाँचथर र धनकुटाको सीमा क्षेत्रमा पर्छ । यो खोलामा पानीको बहाब बढेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङ र सुनसरीलगायत तराईका जिल्लालाई पाँचथर, धनकुटा र तेह्रथुम सहित हिमाली जिल्ला ताप्लेजुङलाई जोड्ने द्रुत मार्गका रुपमा स्थापित उक्त सडकको नावा खोलामा पुल नबनेका कारण बाढी आउनासाथ सडक अवरुद्ध हुँदै आएको छ ।