धनकुटाबाट ४१ प्रतिशतले गरे एसईई उत्तीर्ण, ६ वटा विद्यालयको नतिजा ‘निल’

धनकुटा FM
१६ असार २०८२, सोमबार

धनकुटा । कुनैबेला शिक्षाको हबको रुपमा कहरिलएको धनकुटा पछिल्लो समयमा निक्कै कमजोर बन्दै गएको छ ।

माध्यमिक शिक्षा परिषद्ले लिएको २०८१ को माध्यमिक शिक्षा परीक्षा एसइईमा कोशी प्रदेशमा कमजोर जिल्लामध्ये धनकुटा पनि परेको छ । कोशी प्रदेशमा सबैभन्दा कमजोर भोजपुर परेको छ भने दोस्रोमा धनकुटा परेको छ ।

धनकुटामा यो वर्ष ७४ वटा सामुदायीक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागीता जनाएका थिए । तर त्योमध्ये ६ वटा विद्यालयले शुन्य अंक अर्थात् निल भएका छन् । जसमा चौविसे गाउँपालिकाको कुरुले माध्यमिक विद्यालय गढीगाउँ, साँगुरीगढी गाउँपालिकाको लक्ष्मी माध्यमिक विद्यालय खुढी, सहिदभुमी गाउँपालिकाको सिम्लेमा रहेको अनिवार्य निःशुल्क माध्यमिक विद्यालय र चाम्चामा रहेको टप्पुदेवी माध्यमिक विद्यालय निल भएका छन् ।

त्यसैगरी छथरजोरपाटी गाउँपालिकाको ताङखुवामा रहेको दामोदर माध्यमिक विद्यालय र पाख्रिबास नगरपालिकाको दियालेको शान्ति निवास माध्यमिक विद्यालय पनि निल भएको छ ।

यो वर्ष पनि धनकुटाका सरकारी विद्यालयको नतिजा कमजोर आउँदा निजी विद्यालयले भने झण्डै शतप्रतिशत नै नतिजा निकालेका छन् । धनकुटामा यो वर्ष साधारणतर्फ २ हजार १ सय २९ र प्राविधिक धारतर्फ १ सय ५ जना माध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागी भएकोमा साधारण तर्फ १ हजार २ सय ९३ जना अनुतिर्ण भएका छन् भने ८ सय ३६ जना मात्रै उत्तिर्ण भएका छन् ।

प्राविधिक धारतर्फ ८३ जना उत्तीर्ण भएका छन् । धनकुटामा ४१ दशमलव १४ प्रतिशत उत्तीर्ण भएको शिक्षा बिकास तथा समन्वय इकाई धनकुटाले जनाएको छ ।

महालक्ष्मी नगरपालिकाको मारेककटहरेमा रहेको सरस्वती माध्यमिक विद्यालयले भने शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । यहाँ ७ जनाले एसइई दिएका थिए । त्यसैगरी माथिल्लो गोकुण्डेश्वर माध्यमिक विद्यालयले ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । यहाँ ३३ जनाले एसइई दिइएकोमा ३० जना उत्तीर्ण भएका छन् । त्रिवेणस् माध्यमिक विद्यालयबाट १ सय १ जना विद्यार्थीले परिक्षा दिएकोमा ८६ जना उत्तीर्ण भएका छन् ।

समग्रमा हेर्दा अघिल्लो वर्षको तुलनामा धनकुटामा माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजामा सुधार आएको देखिन्छ । तर कोशी प्रदेशको तुलना गर्ने हो भने निक्कै कमजोर देखिएको छ । धनकुटामा माध्यमिक शिक्षा परीक्षा एसइईमा कम आउनुको कारण बताउँदै शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका प्रमुख मोहन राईले शिक्षकको अभाव, विद्यार्थीमा देखिएको नैराश्यता आदी कारणले पनि पढाईको स्तर खस्किँदै गएको बताउनु भयो ।

शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका प्रमुख मोहन राईको भनाई स्वीकार गर्ने हो भने अघिल्लो वर्षको तुलनामा धनकुटाको शैक्षिक अवस्था सुधार हुँदै गएको छ । तर, जिल्लाका नीजि विद्यालयहरु नतिजा शतप्रतिशत निकाल्दा सरकारी विद्यालयहरुको नतिजा कमजोर बन्दै जानु आफैँमा लज्जाको विषय पनि हो ।

यसलाई सुधार गर्न शिक्षक, कर्मचारी, अभिभावक, शिक्षासँग सम्बन्धित कार्यालय र स्थानीय तहहरुले विषेश योजना र कार्यान्वयनमा ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।