धनकुटाका स्वतन्त्र उम्मेद्वार लाक्पा तामाङविरुद्ध एमालेको पत्रकार सम्मेलन
एमाले धनकुटा अध्यक्ष शिव आङ्ला भन्छन्, ‘यस्तै दोहोरिरहे युवा साथीहरुलाई हामी रोक्न सक्दैनौं, त्यो बेला जे पनि हुनसक्छ’
धनकुटा । पछिल्लो समयमा नेकपा एमालेविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको आरोप खेपिरहदाँ स्वतन्त्र उम्मेद्वार लाक्पा तामाङ र नेकपा एमालेबीच निक्कै टकरावको स्थिती देखिन थालेको छ ।
केही समययता नेपाली कांग्रेसले नेकपा एमालेका उम्मेद्वार राजेन्द्र राईविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एक दर्जन जति उजुरी दर्ता गरेको छ । त्यहीबेला स्वतन्त्र उम्मेद्वार तामाङले नेकपा एमालेका उम्मेद्वार राईले पैसा बाढेको, जनतालाई झुक्याएको जस्ता आरोप लगाउँदै अडियो र भिडियो सार्वजनिक गर्न थालेपछि एमालेको टाउको दुखाईको विषय बन्न थालेको छ ।
यतिसम्मकी पार्टीका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार राईप्रति लक्षित गरेर सामाजिक सञ्जालमा नियोजित रुपमा दुष्प्रचार गरिएको भन्दै एमाले धनकुटाले सम्लग्न व्यक्तिलाई कानुनी कारवाहीको माग गर्दै पत्ररकार सम्मेलन नै गरेको छ ।
नेकपा एमाले जिल्ला अध्यक्ष शिव आङला लिम्बुले लाक्पा तामाङका हर्कत नसच्चिए त्यसै छोड्न नसकिने बताउनुभयो । पार्टीका युवा साथीहरुले तामाङलाई प्रतिकार गर्न खोजिरहेका बेला आफुले थुम्थुम्याएर राखो बताउँदै उहाँले तामाङका यस्ता गतिविधि नरोकिए प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिनुभयो ।
‘हिजो अस्तीसम्म त हामीले त्यो मान्छे सचिन्छ कि भनेर बाटो हेरेकै हो, तर अझैं सच्चिने देखिएन’ उहाँले भन्नुभयो, ‘अब केही दिनसम्म हेर्छौ, यस्तै दोहोरिरहे युवा साथीहरुलाई हामी रोक्न सक्दैनौं । त्यो बेला जे पनि हुनसक्छ ।’
अध्यक्ष आङेलाले मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिई आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । राजनीतिक आस्थामाथि आक्रमण गर्ने, भ्रम फैलाउने र मानहानि गर्ने गतिविधि अस्वीकार्य रहेको उल्लेख गर्दै यस्ता कार्य दोहोरिए प्रतिकार गर्न बाध्य हुने चेतावनी उहाँको छ । तर उहाँले आफ्नो जित्ने सुनिश्चित भएकाले अहिले नै प्रतिकार गर्नु नपरोस् भन्ने आफ्नो चाहना रहेको उहाँको भनाई छ ।
यस्तो छ एमालेको विज्ञप्ती
नेकपा एमालेले उक्त कार्यमा सम्लग्न स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सम्लग्न माथि कारवाहीको माग गरेको हो । सामाजिक सञ्जाल प्रयोग गरेर नक्कली व्यक्ति खडा गरी गलत फोन नम्बरमार्फत भ्रमपूर्ण प्रचार गरिएको जनाएको छ । एमाले धनकुटाले अडियो, भिडियो तथा प्रचार सामग्री सार्वजनिक गरिएको उल्लेख गर्दै त्यसले निर्वाचन आचारसंहिता २०८२ सहित प्रचलित ऐन, कानुन र नियमको उल्लंघन गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा त्यस्ता सामग्री तत्काल हटाउन, प्रयोग गरिएको मोबाइल नम्बर तथा अडियो–भिडियोको प्राविधिक छानबिन गरी संलग्नमाथि कडा कारबाही गर्न माग गरिएको छ । अडियोमा नाम उल्लेख भएका भुपाल थापा काल्पनिक व्यक्ति भएको एमालेको भनाइ छ। एमालेको जीत हुने निश्चित भएपछि आत्तिएर विरोधीहरु खनिएको एमाले अध्यक्ष लिम्बुको भनाइ छ ।
खास भएको के हो ?
केही समय अघिसम्म आफुलाई स्वतन्त्र अभियान्ता बनाउँदै आउनु भएका लाक्पा तामाङले धनकुटाबाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ । त्यसयता उहाँ एमाले उम्मेद्वार राईविरुद्ध आक्रामक रुपमा उत्रिनु भएको छ ।
सोही क्रममा तामाङ शुक्रबार एमाले उम्मेद्वार राईले विगतको चुनावमा एक भोट बराबर १० रुपैयाँ वितरण गरेको र योपटक पनि पैसा दिए भोट दिने भन्ने संवादसहितको भिडियो सार्वजनिक गर्नुभएको छ ।
सो भिडियोमा एमाले उम्मेद्वार राईकै गाउँले, नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापाकै दाजुभाई बताउँदै भुपाल थापाले लाक्पा तामाङसँग ५ भोटको ५० हजार रुपैयाँ मागेको सुनिन्छ । तर तामाङले ‘मुगाको भोट त कति महंगो हो ? म त दिन सक्दिनँ, अरुलाई नै बेच्नुस्’ भनेको अडियो सार्वजनिक गर्नुभएको छ ।
तामाङले सो अडियो सार्वजनिक गरेपछि शनिबार विहानैदेखि सामाजिक सञ्जालमा भाइरल बनेपछि नेकपा एमाले धनकुटाले पत्रकार सम्मेलन नै आयोजना गर्नुपरेको हो ।


प्रतिक्रिया दिनुहोस