बिर्तामोड युनाइटेडलाई १३ औं संस्करणको रारा रनिङ गोल्डकपको उपाधी

धनकुटा एफ. एम.
२२ वैशाख २०८३, मंगलबार

धनकुटा । गत वर्षको विजेता बिर्तामोड युनाइटेड फुटबल क्लबले धनकुटाको राजारानीमा जारी १३ औं संस्करणको रारा रनिङ गोल्डकपको उपाधी हात पारेको छ ।

आज धनकुटाको राजारानीस्थित पुण्य माविको खेलमैदानमा भएको फाइनल खेलमा आयोजक रारा फुटबल क्लबलाई ५–४ गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड फुटबल क्लबले १३ औं संस्करणको रारा रनिङ गोल्डकपको उपाधी हात पारेको हो । योसँगै बिर्तामोड युनाइटेडले ७ लाख रुपैयाँहात पारेको छ भने आयोजक राराले उपविजेता बन्दै ३ लाख रुपैयाँ हात पारेको छ ।

फाइनल खेलको म्यान अफ द म्याच झापाका प्रशान्त लक्षम घोषित हुँदै नगद ७ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उदयीमान खेलाडी आयोजक टिमका लोकेन्द्र चेम्जोङ घोषित भए । झापाका अभिषेक बराल उत्कृष्ट गोककिपर, प्रतियोगिताभर ४ गोल गर्दै झापाका राजेश दाहाल सर्वाधिक गोलकर्ता बन्न सफल भए । उनीहरुले नगद ११ हजार रुपैया र ट्रफि प्राप्त गरे ।

त्यस्तै सर्वोकृत्ष्ट खेलाडी राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर समेत रहेका आयोजक टिमका किरण चेम्जोङ घोषित हुँदै नगद २५ हजार रुपैया सहित ट्रफि प्राप्त गरे ।

जिल्लाकै सर्वाधिक नगद पुरस्कार राशी भएको प्रतियोगिता रारा फुटबल क्लबको आयोजनामा वैशाख १८ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा आयोजकसहित आठ टोलीको सहभागिता रहेको आयोजक रारा फुटबल क्लवका सचिव युवराज कटवालले जानकारी दिनुभयो ।