धनकुटा अस्पतालको ११२ औं वार्षिकोत्सव सम्पन्न, पूर्व अध्यक्षसहित कर्मचारीहरु सम्मानित (फोटोफिचर)
धनकुटा । जिल्ला अस्पताल धनकुटाको ११२ औं वार्षिकोत्सवमा पूर्व अध्यक्षहरुसहित कर्मचारीलाई सम्मान गरिएको छ ।
अस्पतालले ११२ औं वार्षिकोत्सवका अवसरमा अस्पतालको विकास र सेवामा योगदान पुर्याएको भन्दै पूर्व अध्यक्षहरू गोपाल गुरागाईं, नारायणप्रसाद रिजाल, नरेन्द्रप्रसाद पोखरेल, टंकबहादुर चुवान र सुनिल डंगोललाई सम्मान गरेको छ ।
सो अवसरमा उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीहरूलाई समेत पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा कर्मचारी रविन श्रेष्ठ, उत्कृष्ट कार्यालय सहयागीमा किरण राई र अवकास प्राप्त कर्मचारी सन्तलाल विश्वकर्मा हुनुहुन्छ । त्यसैगरी उत्कृष्ट अन्तर्गत शल्यक्रिया विभागका टीम पनि सम्मानित भएका छन् । सो अवसरमा आन्तरिक रुपमा गरिएको फुटबल र हाजिरी जवाफ प्रतियोगितामा विजयीहरुलाई पुरस्कृत गरिएको थियो । उनीहरुलाइै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुली र धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सम्मान गर्नुभयो ।
सो अवसरमा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीले ११२ वर्ष लामो इतिहास बोकेको धनकुटा अस्पतालले जिल्लाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा सेवा अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले धनकुटा अस्पतालको स्तरोन्न्तीका लागि आफु सधैं क्रियाशील रहने पनि प्रतिवद्धता जनाउनु भयो ।
सो कार्यक्रममा धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सन्तोष राईले अस्पतालले हाल सञ्चालन गर्दै आएको सेवा, पछिल्लो अवस्था लगायतका विषयमा जानकारी दिनुभएको थियो ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष निरेन तामाङको अध्यक्षतामा अस्पतालले ११२ औं वार्षिकोत्सव मनाएको थियो ।




प्रतिक्रिया दिनुहोस