वाहिनीपति ट्रफी–२०८३ धनकुटामा सम्पन्न, भोजपुरस्थित श्री नयाँ श्रीनाथ गण सर्वोत्कृष्ट गण घोषित

कोकिला भण्डारी
३१ वैशाख २०८३, बिहिवार

धनकुटा । धनकुटा १ हिले स्थित नं। २ वाहिनी अड्डाको आयोजनामा सञ्चालित वाहिनीपति ट्रफी–२०८३ सम्पन्न भएको छ ।

उक्त प्रतियोगिता वैशाख २३ गतेदेखि सञ्चालन गरिएको थियो । प्रतियोगितामा मोरङमा तैनाथ श्री शिवदल गण, सुनसरीमा तैनाथ श्री भगवतीदल गण, धनकुटामा तैनाथ श्री भीमदल गण, भोजपुरमा तैनाथ श्री नयाँ श्रीनाथ गण, तेह्रथुममा तैनाथ श्री शमशेरदल गुल्म, संखुवासभामा तैनाथ श्री इन्द्रदल गुल्म, मकवानपुरस्थित राष्ट्रिय निकुञ्जमा तैनाथ श्री रणदल गुल्म तथा कोशी टप्पु वन्यजन्तु आरक्षमा तैनाथ श्री भीमकाली गुल्मका खेलाडीहरूको सहभागिता रहेको थियो ।

नं. २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी दिवाकर विक्रम राणाले एक समारोहबीच प्रतियोगिताको समापन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न गण तथा गुल्मका गणपति, गुल्मपति, खेलकुद विकास समितिका पदाधिकारी, सञ्चारकर्मी, सैनिक अधिकृत, पदिक तथा सकलदर्जाको उपस्थिति रहेको थियो ।

कोशी प्रदेशका विभिन्न जिल्लामा तैनाथ सैनिक खेलाडीहरूबीच उत्कृष्ट खेलाडी पहिचान गर्ने, सेनाभित्र खेल संस्कृतिको विकास गर्ने तथा भविष्यमा सञ्चालन हुने प्रतियोगिताका लागि उत्कृष्ट खेलाडी तयार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

साथै सैनिक व्यक्तिमा सामूहिक भावना, नेतृत्व क्षमता, स्वस्थ प्रतिस्पर्धा र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्यसमेत प्रतियोगिताले राखेको थियो । फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, एथलेटिक्स, जुडो, कबड्डी र स्विमिङ गरी नौ विधामा प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा भोजपुरस्थित श्री नयाँ श्रीनाथ गण सर्वोत्कृष्ट गण घोषित भएको छ । उक्त गणले भलिबल, बास्केटबल, फुटबल, एथलेटिक्स, बक्सिङ र तेक्वान्दोमा प्रथम स्थान हासिल गरेको थियो । त्यसैगरी धनकुटा स्थित श्री भीमदल गणले स्विमिङ र कबड्डीमा प्रथम स्थान हासिल गरेको थियो भने श्री शिवदल गण जुडोतर्फ प्रथम बनेको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नयाँ श्रीनाथ गणलाई वाहिनीपति ट्रफी प्रदान गरिएको छ । साथै विभिन्न खेल विधामा उत्कृष्ट नतिजा हासिल गर्ने गण, गुल्म, खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई ट्रफी, मेडल, प्रमाणपत्र र प्रशंसापत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

श्री नं. २ वाहिनी अड्डा हिलेका अनुसार सैनिक संगठनभित्र सामूहिक भावना, अनुशासन र एस्प्रिट डी कोरको विकास गर्दै राष्ट्रका लागि सम्भावित उत्कृष्ट खेलाडी पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता केवल खेल प्रतिस्पर्धाका लागि मात्रै नभई अनुशासन र सहकार्यको भावना विकास गर्ने उद्देश्यले पनि सञ्चालन गरिएको आयोजकको भनाइ छ ।

सात दिनसम्म सञ्चालन भएको प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, जुडो, बक्सिङ, तेक्वान्दो, कबड्डी, स्वीमिङ र एथ्लेटिक्स गरी नौ विधाका खेल समावेश गरिएको थियो ।