पत्रकारलाई ज्यान मार्ने धम्कीको चौतर्फी विरोध

दलित महिला संघ धनकुटाले भन्यो, जातीय रुपमा होच्याउने दोशीलाई कानुनी कठघरामा उभ्याइनुपर्छ

धनकुटा FM
६ असार २०८३, शनिबार

धनकुटा । रेडियो धनकुटा एफएमको आधिकारिक अनलाइन पोर्टल धनकुटा एफएम डटकममा समाचार प्रकाशन गरेको विषयलाई लिएर जातीय गालीजलाज सहित ज्यान मार्ने धम्की दिएपछि चौतर्फी विरोध भएको छ ।

२०८३ साल असार ४ गते धनकुटा एफएम डटकममा ‘अख्तियारको डरले मोबाइल अफ गरेर कहाँ फरार भए कांग्रेस नेता सिद्धार्थ थापा ?’ शिर्षकमा समाचार प्रकाशन भएपछि धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ आन्द्रुङका पर्शु कार्कीले रेडियो धनकुटा एफएमका सञ्चालक एवं राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष गोपाल बराइलीलाई सामाजिक सञ्जालमार्फत् धम्क्याउँदै ‘ओ खाते तैले के खोजेको ? होस गर्नु, जिन्दगीको अलि माया गर्नु’ लगायत जातसँग जोडेर समेत धम्की दिएको सार्वजनिक भएपछि चौतर्फी विरोध भएको हो ।

पत्रकारलाई समाचार लेखेकै कारण गालीगलौज र धम्की दिइएको घटनाले प्रेस स्वतन्त्रता तथा पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै दलित महिला संघ (फेडो), दलित एकता समाज लगायतका संघ संस्थाले सो घटनाको निन्दा गरेका छन् ।

यसअघि नेपाल पत्रकार महासंघ, धनकुटा शाखा, कोशी प्रदेश समिति, महासंघकै केन्द्रिय समिति, राष्ट्रिय दलित पत्रकार संघ लगायतले विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमार्फत् समाचारको विषयलाई लिएर जातीय रुपमा होच्याउने, ज्यान मार्नेसम्मको धम्की दिने लगायतका विषयमा कडा विरोध जनाउँदै दोशीलाई कानुनी कठघरामा उभ्याउन माग गरेका थिए ।

दलित महिला संघ (फेडो) धनकुटा अध्यक्ष लक्ष्मी परियारले विज्ञप्ती जारी गर्दै पर्शु कार्कीद्वारा सामाजिक सञ्जालमार्फत गरिएको गालीगलौज, धम्की, मानसिक प्रताडना तथा जातीय विभेद र छुवाछूतजन्य अभिव्यक्तिप्रति दलित महिला संघ, धनकुटाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘दलित समुदायबाट पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तिमाथि समाचारप्रति असहमति जनाउने नाममा गरिने धम्की, अपमान, गालीगलौज तथा जातीय पूर्वाग्रहयुक्त व्यवहार केवल एक व्यक्तिमाथिको आक्रमण मात्र नभई, समग्र दलित समुदायको आत्मसम्मान, प्रेस स्वतन्त्रता र संविधानले सुनिश्चित गरेको समानताको अधिकारमाथिको प्रहार हो’ विज्ञप्तीमा भनिएको छ, ‘यस्तो कार्यले समाजमा विद्यमान जातीय विभेद र छुवाछूतको मानसिकतालाई थप प्रश्रय दिने भएकाले यसलाई सामान्य घटनाका रूपमा लिन सकिँदैन ।’

कार्की नेपाली कांग्रेस धनकुटाको क्षत्रीय सदस्य हुन् भने अन्नपूर्ण माविको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्षसमेत हुन् । कार्कीले पत्रकार बराइलीलाई म्यासेन्जरमा ‘धेरै चुमचुम भइरहेको छ, अलि होस गर्ने, जिन्दगीको अलि माया गर्ने गर्नू । धेरै जात नजनाउनु, तँलाई हामीले राम्रै चिनेको छ, भन्ने अभिव्यक्ति दिएका थिए ।
‘दलित महिला संघ, धनकुटा उक्त घटनाको घोर भत्र्सना गर्दै सम्बन्धित निकायसँग घटनाको निष्पक्ष छानबिन गरी जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ तथा प्रचलित कानुनबमोजिम दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न जोडदार माग गर्दछ’, फेडो अध्यक्ष परियारद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘साथै पत्रकार गोपाल बराइलीको सुरक्षा सुनिश्चित गर्न, दलित समुदायमाथि हुने यस्ता विभेदजन्य गतिविधि नियन्त्रण गर्न तथा भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन प्रभावकारी कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

यस्तो छ विज्ञप्ती
दलित अधिकारकर्मी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष तथा रेडियो धनकुटा एफएमका सञ्चालक एवं स्टेशन म्यानेजर गोपाल बराइलीमाथि समाचार प्रकाशनको विषयलाई लिएर धनकुटाको महालक्ष्मी नगरपालिका–७, आन्द्रुङ निवासी पर्शु कार्कीद्वारा सामाजिक सञ्जालमार्फत गरिएको गालीगलौज, धम्की, मानसिक प्रताडना तथा जातीय विभेद र छुवाछूतजन्य अभिव्यक्तिप्रति दलित महिला संघ, धनकुटाको गम्भीर ध्यानाकर्षण भएको छ ।

दलित समुदायबाट पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तिमाथि समाचारप्रति असहमति जनाउने नाममा गरिने धम्की, अपमान, गालीगलौज तथा जातीय पूर्वाग्रहयुक्त व्यवहार केवल एक व्यक्तिमाथिको आक्रमण मात्र नभई, समग्र दलित समुदायको आत्मसम्मान, प्रेस स्वतन्त्रता र संविधानले सुनिश्चित गरेको समानताको अधिकारमाथिको प्रहार हो । यस्तो कार्यले समाजमा विद्यमान जातीय विभेद र छुवाछूतको मानसिकतालाई थप प्रश्रय दिने भएकाले यसलाई सामान्य घटनाका रूपमा लिन सकिँदैन ।

नेपालको संविधानको धारा २४ ले छुवाछूत तथा भेदभावविरुद्धको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। साथै जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले जात, वंश, समुदाय वा पेशागत पहिचानका आधारमा कुनै व्यक्तिलाई अपमानित गर्ने, होच्याउने, विभेद गर्ने वा मानसिक पीडा पु¥याउने कार्यलाई दण्डनीय कसुरका रूपमा परिभाषित गरेको छ । त्यसैले दलित समुदायको पहिचानलाई लक्षित गरी गरिएका कुनै पनि अपमानजनक तथा विभेदकारी अभिव्यक्तिहरू कानुनी राज्य र सामाजिक न्यायको मूल्य–मान्यताविपरीत छन् ।

दलित महिला संघ, धनकुटा उक्त घटनाको घोर भत्र्सना गर्दै सम्बन्धित निकायसँग घटनाको निष्पक्ष छानबिन गरी जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ तथा प्रचलित कानुनबमोजिम दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न जोडदार माग गर्दछ । साथै पत्रकार गोपाल बराइलीको सुरक्षा सुनिश्चित गर्न, दलित समुदायमाथि हुने यस्ता विभेदजन्य गतिविधि नियन्त्रण गर्न तथा भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन प्रभावकारी कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

दलित महिला संघ, धनकुटा जातीय विभेद, छुवाछूत, महिला तथा दलित समुदायमाथि हुने सबै प्रकारका अपमान, हिंसा, बहिष्करण र दमनविरुद्ध सधैँ दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दछ ।