पक्राउ परे पत्रकारलाई धम्की दिने कार्की

५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनकुटाको अनुमति

धनकुटा FM
१० असार २०८३, बुधबार

धनकुटा । समाचार लेखेकै आधारमा धनकुटाका पत्रकारलाई धम्की दिने पर्शुराम कार्कीलाई जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

असार ४ गते रेडियो धनकुटाको आधिकारिक अनलाईन पोर्टल धनकुटा एफएम डटकममा अख्तियारको डरले मोबाइल अफ गरेर कहाँ फरार भए कांग्रेस नेता सिद्धार्थ थापा ? शिर्षकमा समाचार प्रकाशन भएपछि धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ आन्द्रुङ घर भएका कार्कीलाई प्रहरीले आज बिहान ५ बजे घरबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेका कार्कीलाई थप अनुसन्धानका लागि आज जिल्ला अदालत धनकुटामा लगेकोमा जिल्ला अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी तथा हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

कार्कीले समाचारका विषयलाई लिएर .रेडियो धनकुटा एफएमका स्टेसन मेनेजर गोपाल बराइलीमाथि ज्यान मार्ने धम्की दिनुका साथै जातीय गालीगलौजसमेत गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत् परिवारलाई समेत जोडेर धम्की दिएपछि बराइलीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

बराइलीलाई कार्कीले सामाजिक सञ्जाल मेसेन्जरमा जातीय रूपमा गाली गर्दै परिवार र ज्यानको ख्याल गर भन्दै धम्की दिएका थिए । बराइलीले गत असार ४ गते राहदानी छपाइ प्रकरणका विषयमा नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापालाई अख्तियारले छानविन गरेको बारेमा समाचार प्रकाशित गरेका थिए ।

सोही समाचार सार्वजनिक भएपछि कार्कीले पत्रकार बराइलीलाई कार्कीले धम्की दिएका थिए । उनले ज्यान मार्ने धम्की दिएपछि बराइलीले नेपाल पत्रकार महासंघ धनकुटालाई जानकारी गराएका । सो पश्चात् महासंघ धनकुटा शाखा, कोशी प्रदेश समिति, केन्द्रिय समिति, राष्ट्रिय दलित पत्रकार संघ, सामुदायीक रेडियो प्रशारक संघ, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, दलित महिला संघ, धनकुटा लगायतका संघसंस्थाले विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण गराएका छन् ।