संगठन विस्तारमा तीव्र बन्यो श्रम संस्कृति पार्टी

एमाले कोशी प्रदेश कमिटी सदस्य प्रकाश राईसहित श्रम संस्कृति पार्टी प्रवेश

धनकुटा FM
३ साउन २०८३, आइतबार

धनकुटा । पछिल्लो समयमा श्रम संस्कृति पार्टीले धनकुटामा संगठन विस्तार अभियानलाई तीव्रव बनाउँदै लगेको छ । पार्टी प्रवेशलाई पनि उत्तिकै तीव्र बनाउन थालेको छ । सोही क्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य प्रकाश राईसहित विभिन्न पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

धनकुटाको सहिदभुमी गाउँपालिका कार्यपालिका सदस्य समेत रहनुभएका राई आज एक कार्यक्रमका बीच हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको हो । सहिदभुमीकै जनक राई पनि श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ ।

त्यसैगरी डेनी राई, सिताराम राई, सगुन राई, नकुल राई, भुमिका राई, सन्देश राई, विजय राई र कुसल राई नेपाली कांग्रेस परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेको श्रमसंस्कृति पार्टीका नेता अञ्जना ताम्लीले जानकारी दिनुभयो ।

आजै नेपाली कांग्रेसको कोशी प्रदेश समिति सदस्य अन्जना राई पनि श्रम संस्कृति पार्टीमा प्रवेश गर्नु भएको छ । उहाँहरुलाई पार्टीका अध्यक्ष हर्क साम्पाङले सदस्यता दिएर पार्टी प्रवेश गराउनु भयो । राई सुनसरी जिल्लाको हुनुहुन्छ ।

केहीसमय अघि नेपाली कांग्रेसबाट संविधानसभा सदस्य बन्नुभएकी अञ्जना ताम्ली, नेपाली कांग्रेसको कोशी प्रदेश सदस्य मीना राईसहित झण्डै २५० जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए ।

वडा समिति गठन
संस्कृति पार्टीले वडा समिति विस्तारलाई पनि उत्तिकै तीव्र बनाउँदै लगेको छ । सोही क्रममा आज धनकुटा नगरपालिका वडा नं. ३ मा श्रम संस्कृति पार्टी बिनोद लिम्बूको अध्यक्षतामा २७ जना वडा कार्य समिति गठन गरेको छ ।

सो वडा समितिको उपाध्यक्षमा राजन राई, महिला उपाध्यक्षमा करिना राई, सचिवमा करिष्माराई, सहसचिवमा रत्न राई, कोषाध्यक्षमा जितरानी राई, सहकोषाध्यक्षमा अविनास राई र प्रवक्तामा संगम राई चयन हुनुभएको छ । वडा समितिमा अगम राई, वीरबहादुर राई, मुनादेवी परियार, सन्तोष कार्की, प्रेमबहादुर राई लगायत सदस्य चयन हुनुभएको छ ।

धनकुटा नगरपालिका वडा नं. ३ कागतेमा भएको वडा भेलामा श्रम संस्कृति पार्टीका कोशी प्रदेश उपाध्यक्ष लाक्पा तामाङ, धनकुटा नगरपालिका कार्यपालिका सदस्य मनुकला लिम्बु, श्रम संस्कृति पार्टीको कोशी प्रदेश सदस्य सालकुमारी राई, जिल्ला अध्यक्ष आकाश राई, जिल्ला सचिव इन्द्रकुमार लिम्बु, नगर अध्यक्ष हेमचन्द्र राई, नगर सचिव तेजकुमार सिजाली, जिल्ला प्रवक्ता सन्तोष राई लगायतको उपस्थिती रहेको थियो ।