रसुवा बाढी अपडेट : चितवनमा बेवारिसे शवको व्यवस्थापन शुरु, डीएनए सुरक्षित राखेर गाडिँदैछन् शव
मृतकको संख्या ६६९ पुग्यो, हालसम्म २ हजार ३०१ जनाको उद्धार
काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीमा परी बगेर चितवन पुर्याएका तर पहिचान हुन नसकेका शवहरूको जमिनमुनि व्यवस्थापन शुरु भएको छ ।
शनिबार बिहान जिल्ला प्रशासन कार्यालय चितवनले शवहरू सडेगलेर महामारी फैलन सक्ने जोखिम बढेको भन्दै ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्ने सूचना जारी गरेको थियो ।
सोही निर्णय कार्यान्वयन गर्दै शनिबार दिउँसोदेखि भरतपुर महानगरपालिका वडा नं १ स्थित रामनगर र देवघाटको बीचमा पर्ने जङ्गल क्षेत्रमा शवहरू गाड्न थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म चितवनमा २३३ वटा शव सङ्कलन भएका छन् । तीमध्ये ६ वटा शव पहिचान भई आफन्तलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी शवहरू अत्यधिक सडेगलेको र दुर्गन्धित भई चिन्न नसकिने अवस्थामा पुगेपछि सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न लागिएको हो ।
एसपी पौडेलले घटनास्थलबाट दिएको जानकारीअनुसार भविष्यमा आफन्तले दाबी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समिति ९आईसीआरसी० को मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाडिएको छ ।
शनिबार दिउँसो ४ बजेसम्म रसुवा बाढीबाट मृत्यु भएका ६६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार ६६९ जनाको शव भेटिएको हो । उक्त सूचना अनुसार सबैभन्दा बढी २४८ शव चितवनमा फेला परेका छन् । यस्तै, पूर्वी नवलपरासीमा १५८, पश्चिम नवलपरासीमा ७५, धादिङमा ४९, गोरखामा ५४, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ शव फेला परेका छन् ।
बाढी तथा त्यसबाट सिर्जित विपदबाट प्रभावित क्षेत्रबाट शनिबारसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट तीन जनाको उद्धार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस