अनुगमन टोलीद्धारा पाख्रीबासको पाथीभरा औषधी पसल सिलबन्दी, ४ वटाको दर्ता प्रमाणपत्र जफत
धनकुटा । औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरले धनकुटाको हिले र पाख्रिबास क्षेत्रमा सञ्चालित औषधि पसलमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा विभिन्न कमजोरी भेटिएपछि एउटा पसल सिलबन्दी गरिएको छ भने चारवटा फार्मेसीका सञ्चालकलाई औषधी व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ४, स्थित बजारमा सञ्चालित पाख्रीबास पाथीभरा औषधी पसल सिलबन्दी गरी बन्द गरिएको छ भने अन्य चार वटा दर्ता प्रमाणपत्र जफत गरिएको छ ।
औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला स्वास्थ्य कार्यालय, हिले प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाख्रीबास सहितको टोलीले हिले र पाख्रीबासमा सञ्चालित औषधी पसलको अनुगम गरेको थियो ।
पसलेले अधिकारप्राप्त व्यवसायी अनुपस्थित, दर्ता नभएका औषधी र मापदण्ड विपरीत भण्डारण गरिएको पाइएपछि फार्मेसी सिलबन्दी गरिएको हो । अनुगमनका क्रममा उक्त औषधी पसलमा औषधी बिक्री वितरण गर्न अधिकार प्राप्त व्यवसायी देवानन्द झा अनुपस्थित रहेको फार्मेसी सञ्चालन भइरहेको पाइएको थियो ।
पसलमा दर्ता नभएका तथा फ्रिजमा राख्नुपर्ने तर उचित तापक्रममा नराखिएका औषधीसमेत भेटिएपछि पसल सिलबन्दी गरी बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले जानकारी दिनुभयो ।
यस्तै, हिलेमा प्रकाशबाबु शाहले सञ्चालन गरेको पाख्रीबासकै हिले फार्मेसीले औषधी बिक्रीवितरणको अभिलेख नराखेको र म्याद सकिएका औषधी छुट्टै राख्ने व्यवस्था नगरेको पाइएको छ । फार्मेसी सञ्चालक शाहलाई विभागमा उपस्थित हुन निर्देशन दिँदै पसलको दर्ता प्रमाणपत्र जफत गरिएको छ ।
यसैगरी धनकुटा नगरपालिका वडा नं. १ हिले बजारमा अमित थापाले सञ्चानल गरेको बुद्ध फार्मेसी, भगवती पाण्डेले सञ्चालन गरेको भगवती बक्रकुण्ड फार्मेसी, ललित घिमिरे र पीताम्बर दासले सञ्चालन गरेको उज्यालो मेडिकल हलमा पनि आवश्यक मापदण्ड विपरीत सञ्चालन गरेको पाइएपछि विभागमा उपस्थित हुन निर्देशन दिँदै पसलको दर्ता प्रमाणपत्र जफत गरिएको छ ।
त्यस्तै, दिव्या फार्मेसी हिले, हाङखिम फार्मेसी पाख्रीबास र जनसेवा मेडिकल हिलेगरी तीन वटा औषधी पसल भने सामान्य रहको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस