

धनकुटा । धनकुटामा अस्पताल स्थापना भएको ११३ वर्षपछि पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ ।
विसं १९७० सालमा स्थापना भएको धनकुटा जिल्ला अस्पतालमा करिब डेढ दशकअघि पनि ब्लड बैंक सञ्चालनको प्रयास भएको थियो । तर, धनकुटामा अस्पताल स्थापना भएको ११३ वर्षपछि शुक्रबारदेखि पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको हो ।
लामो प्रयासपछि मापदण्ड पूरा गरी औपचारिक रूपमा रक्तसञ्चार सेवा सुरु गरिएको रक्तसञ्चार सेवा केन्द्रको कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले उद्घाटन गर्नुभयो । जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटी धनकुटाले संयुक्तरूपमा ब्लड बैंक स्थापना गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मन्त्री पराजुलीले रक्तसञ्चार सेवा केन्द्रलाई निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले धनकुटा जिल्ला अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्न आफू निरन्तर पहलमा रहेको बताउँदै चाँडै धनकुटेली जनताको अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
अस्पताल र रक्तसञ्चार केन्द्रबीच महत्वपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले ऐतिहासिक धनकुटा अस्पतालको सेवा विस्तारका लागि केन्द्र सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । ‘रक्त सञ्चार सेवा सञ्चालन भएपछि धनकुटा मात्र नभएर तेह्रथुम, भोजपुर र संखुवासभाका नागरिकलाई सहज हुनेछ’, मन्त्री पराजुलीले भन्नुभयो, ‘जिल्ला अस्पताललाई कसरी राम्रो र प्रभावकारी बनाउन सकिन्छ । त्यसतर्फ आफू लागि परिरहेको छु । त्यसका लागि जिल्लावासीको साथ आवश्यक छ ।’
आवश्यक मापदण्डअनुसार भवन, जनशक्ति र उपकरणको व्यवस्था भएपछि रक्तसञ्चार सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । हाल धनकुटा जिल्ला अस्पताल ५० शय्यामा सञ्चालनमा रहे पनि राज्यबाट भने १५ शय्याका लागि मात्र आवश्यक सेवा, सुविधा र जनशक्ति उपलब्ध हुँदै आएको छ ।
प्रारम्भिक चरणमा आवश्यक बजेट जुटेपछि रक्तसञ्चार सेवा सञ्चालन गर्न सम्भव भएको अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले बताउनुभयो । उहाँका अनुसार केन्द्रमा चौबीसै घण्टा परिचालन हुने गरी चार जना प्राविधिक तथा कर्मचारीको व्यवस्था गरिएको छ भने आवश्यक उपकरणसमेत तयारी अवस्थामा राखिएको छ ।
रक्तसञ्चार केन्द्रका लागि मापदण्डअनुसार चार कोठे भवन निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाले आवश्यक स्वीकृति लिएपछि सेवा सञ्चालनमा आएको जिल्ला अध्यक्ष छत्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सो कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा पूर्व अर्थ राज्यमन्त्री निरन राई, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गैरआवासीय नेपाली संघ (एनआरएनए) सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायत राजनीतिक दलका नेता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले शुभकामना दिनुभएको थियो ।
सो अवसरमा रक्तसञ्चार केन्द्र सञ्चालनका लागि आर्थिक सहयोग गर्ने समाजसेवी राजेन्द्रकुमार राउत, द्रोणप्रसाद गुरागाईं, विजयसन्तोषी राई, विदुर खवास लगायत सहयोगदातालाई कार्यक्रममा सम्मान गरिएको थियो । उद्घाटनको अवसरमा १५ जनाले रक्तदानसमेत गरेका थिए ।
रक्तसञ्चार सेवा केन्द्र सञ्चालनका लागि देश तथा विदेशमा रहेका नेपाली र विभिन्न संघसंस्थाबाट १६ लाख ४५ हजार ४२८ रुपैयाँ सहयोग संकलन भएको छ। एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको पहलमा सहयोग संकलन अभियान सञ्चालन गरिएको हो । उपलब्ध विवरणअनुसार एनआरएनए आईसीसी जर्मनीका पूर्व प्याट्रोन रामप्रताप थापाबाट ४ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरिकाबाट २ लाख ६ हजारभन्दा बढी, जापानबाट २ लाख, किर्गिस्तानबाट डा किसान भण्डारीमार्फत २ लाख र क्यानडाबाट १ लाख १० हजार रुपैयाँ सहयोग संकलन भएको जनाइएको छ ।
हङकङबाट किरणराज अधिकारीले १ लाख ५ हजार ५ सय, अष्ट्रेलियाबाट १ लाख ३ हजार, जापानका रोविनप्रसाद शेरचनबाट १ लाख, चीनबाट ७१ हजार, धनकुटाका राजेन्द्रकुमार राउतबाट ५५ हजार, जापानका दीपक कँडेलबाट ५० हजार, कंगोबाट २५ हजार, युवा उद्यमी अशोकराज पाण्डेबाट १० हजार तथा प्रकाश श्रेष्ठबाट ७ हजार रुपैयाँ, द्रोणप्रसाद गुरागाईबाट ११ हजार १ सय ११, विजय सन्तोषी राईबाट ११ हजार १ सय ११ र विदुर खवासबाट १० हजार १ सय ५ रुपैया सहयोग प्राप्त भएको जनाइएको छ ।

