धनकुटामा पहिलोपटक स्वर्णबिन्दु प्राशन गराउन सुरु, १५० जना बालबालिका स्वर्णबिन्दु प्राशनका लागि दर्ता

धनकुटा FM
१९ असोज २०८३, सोमबार

धनकुटा । धनकुटामा पहिलोपटक स्वर्णबिन्दु प्राशन गराउन सुरु भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउन सुरु गरेको हो ।

केन्द्रले पुष्य नक्षत्रको अवसर पारेर धनकुटामा स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरेको हो । धनकुटामा पहिलो पटक सुरु गरिएको यो कार्यक्रमअन्तर्गत हरेक महिनाको पुष्य नक्षत्रका दिन बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराइनेछ ।

धनकुटामा पहिलो पटक सञ्चालन गरिएको कार्यक्रममा हालसम्म एक सय ५० जना बालबालिका स्वर्णबिन्दु प्राशनका लागि दर्ता भएको केन्द्रले जनाएको छ । जिल्लाभरिका एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी गराउने तयारी गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले जनाएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाकी प्रमुख डा. विद्या श्रेष्ठका अनुसार आयुर्वेदिक मान्यताअनुसार स्वर्णबिन्दु प्राशनले बालबालिकाको शारीरिक तथा मानसिक विकास, स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार सुनको भस्म, मह र घिउको मिश्रणबाट स्वर्णबिन्दु तयार गरिन्छ । करिब पाँच हजार वर्ष पुरानो काश्यप संहितामा समेत स्वर्णबिन्दु प्राशनको विधि उल्लेख रहेको आयुर्वेद चिकित्सकहरूको भनाइ छ ।

स्वर्णबिन्दु प्राशन कार्यक्रमको शुभारम्भ कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले एक कार्यक्रममा बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराएर गर्नुभएको थियो ।