आजदेखि तिहार शुरु, सुनचाँदी र धातुका सामान भित्र्याइदै

धनकुटा FM
२१ कार्तिक २०८३, शुक्रवार

धनकुटा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गरेर धनतेरस मनाउने परम्परा छ ।

धनतेरसलाई धनसम्पत्ति र समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ । यस दिन सुन, चाँदी, तामा तथा पित्तलका सामान किन्नु शुभ मानिने धार्मिक विश्वास छ । यही परम्पराअनुसार बजारमा धनतेरसका लागि सुनचाँदीका गरगहना तथा विभिन्न धातुका सामग्रीको किनमेल हुने गर्छ ।

पण्डित नारायणप्रसाद दुलालका अनुसार आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले आज धनतेरस मनाउन लागिएको हो । आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ ।

हिन्दु धर्ममा धनतेरसलाई विशेष गरी धन र समृद्धिको पर्वको रूपमा मान्ने गरिन्छ । “धन” भनेको सम्पत्ति भन्ने बुझिन्छ र “तेरस” भनेको त्रयोदशी तिथि हो, यी दुई शब्द मिलेर धनतेरस शब्द बनेको हो । जसलाई हामी कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिमा मनाउँछौं ।

यसै दिन बेलुकाबाट यमदीपदान सुरु हुन्छ । यस दिनलाई धन त्रयोदशी वा धनतेरस भनिन्छ । तिहारको पाँच दिन यमराजसँग बढी सम्बन्धित भएको हुनाले तिहारको पाँच दिनलाई यमपञ्चक भनिएको हो । परिवारमा जति पनि सदस्य छन्, तिनको नाम लिएर प्रत्येक दिन साँझमा दक्षिणतर्फ फर्केर यमदीपदान गर्ने परम्परा छ । यसो गर्नाले परिवारमा सुख, शान्ति र पारलौकिक सद्गति पनि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ ।

त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ। यस वर्ष कात्तिक २५ गते भाइटीका परेको छ । चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले ६ दिनको भएको छ ।

मिथिला क्षेत्रमा धनतेरसका दिन साँझ दीपमालिका गर्ने चलनसमेत छ । यस दिन धातुका भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँलगायत सामग्री किन्ने परम्परा पनि रहेको छ । यसरी धनतेरससँगै सुरु हुने तिहारमा काग, कुकुर, गाई, गोरु र भाइपूजासहित विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि गरिन्छ ।