श्रम संस्कृति पार्टीले धनकुटाका सातवटै स्थानीय तहमा मनायो पार्टीको स्थापना दिवस
धनकुटा । हर्क साम्पाङ नेतृत्वमा स्थापना भएको श्रम संस्कृति पार्टीले धनकुटाका सातवटै स्थानीय तहमा पार्टीको स्थापना दिवस मनाएको छ । पार्टीले जिल्लाका सातवटै पालिकामा एकैसाथ प्रथम स्थापना दिवस मनाएको हो ।
धनकुटामा स्थापना दिवसका अवसरमा धनकुटा बसपार्कबाट ¥याली निकालेको थियो । सो ¥याली मदनचोक, भीमनारायण चोक, माथिल्लो कोप्चे र तल्लो कोप्चे हुँदै पुनः मदनचोक पुगेर कोणसभामा परिणत भएको थियो ।
सो कोणसभामा श्रम संस्कृति पार्टीका केन्द्रिय सह-प्रवक्ता जीवन विष्टले पार्टीलाई जातीय पार्टी भनेर अन्य राजनीतिक दलहरूले आरोप लगाउने गरेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नभएको बताउनुभएको छ ।
राउटे समुदायलाई समेत मूलधारको राजनीतिमा ल्याउन सक्ने पार्टी श्रम संस्कृति पार्टी भएको दाबी गर्दै सबै जातजाति र विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरू श्रम संस्कृति पार्टीमा प्रवेश गरिरहेकाका कारण पार्टीलाई जातीय पार्टीका रूपमा चित्रण गर्नु गलत भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले चामल बेचेर केही दिन भोकै बस्नुपर्छ भने पनि मान्ने चेतनाको विकास भइरहेकोमा खिन्नता व्यक्त गर्नुभयो ।
यता, पार्टी स्थापना दिवसका अवसरमा श्रम संस्कृति पार्टी धनकुटाले आयोजना गरेको वार्षिकोत्सव तथा पार्टी प्रवेश कार्यक्रममा केक काटेर वार्षिक उत्सव मनाइएको छ । सो कार्यक्रममा केन्द्रीय सहप्रवक्ता जीवन विष्ट, केन्द्रीय सदस्य जितेन्द्र माङ्पाङ, अर्का केन्द्रीय सदस्य खड्ग पाक्सवा लगायत प्रदेश कमिटीका सदस्य, विभिन्न पालिकाका प्रमुख तथा पार्टीका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
पार्टीका जिल्ला अध्यक्ष आकाश राईको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन इन्द्रकुमार लिम्बूले गर्नुभएको थियो भने जिल्ला उपाध्यक्ष उपेन्द्र राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।
यता, धनकुटाको पाख्रिबासमा पनि श्रम संस्कृति पार्टीले केक काटेर प्रथम स्पना दिवस मनाएको छ । पाख्रिबास नगर समितिका अध्यक्ष निरज मगरको अध्यक्षतामा भएको सो कार्यक्रमा कोशी प्रदेश सदस्यहरु बिष्णु किँराती, नगेन्द्र स्याङबो, पाख्रिबास नगर प्रवक्ता सोचन राई लगायतले बोल्नु भएको थियो ।
सो पार्टीले धनकुटाका सातवटै स्थानीय तहमा संगठन विस्तार गर्दै आफ्नो राजनीतिक गतिविधिलाई तीव्रता दिँदै आएको छ । हर्क साम्पाङको नेतृत्वमा गत वर्ष निर्वाचन आयोगमा दर्ता भएको श्रम संस्कृति पार्टीले पछिल्लो समय संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । पार्टी दर्ता हुनुअघि नै धनकुटामा ‘हर्क साम्पाङ अ रेभुलेसन’ अभियानमार्फत श्रमदानका गतिविधि हुँदै आएका थिए ।
हाल धनकुटाका सातवटै स्थानीय तहमा पार्टीको संगठनात्मक संरचना निर्माण भइसकेको छ । जिल्लाका ६० वडामध्ये ५० वटामा वडा समिति गठन भइसकेको कोषाध्यक्ष राईले जानकारी दिनुभयो ।
पछिल्लो समय पार्टीले जिल्लामा संगठन विस्तार अभियानलाई आक्रामक रूपमा अघि बढाइरहेको छ । बाँकी वडाहरूमा पनि समिति गठन गर्दै संगठनलाई थप विस्तार गर्ने अभियानमा पार्टी जुटेको छ ।


प्रतिक्रिया दिनुहोस