पाख्रीबास नगरपालिकाले सरकारलाई प्रश्न, ‘हालसम्मको पोस्टमार्टमले पीडित परिवारलाई के कति राहत पायो ?’

धनकुटा FM
२१ कार्तिक २०८३, शुक्रवार

धनकुटा । पाख्रीबास नगरपालिकाले विभिन्न घटना, दुर्घटना तथा आत्महत्याका घटनामा पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन सरकारसँग माग गरेको छ ।

नगरपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई पत्र पठाउँदै पोस्टमार्टमसँग सम्बन्धित कानुनी तथा प्रशासनिक व्यवस्थाका कारण सर्वसाधारणले भोग्दै आएको सास्ती अन्त्य गर्न माग गरेको हो ।

‘हालसम्मको पोस्टमार्टमले पीडित परिवारलाई के कति राहत पायो ?’ भन्ने प्रश्नसमेत उठाउँदै नगरपालिकाले नागरिकलाई अनावश्यक दुःख र झन्झटबाट मुक्त गर्न आवश्यक कानुनी सुधार गर्न सरकारसँग आग्रह गरेको छ ।

नगर प्रमुख ज्ञानबहादुर गुरुङद्वारा हस्ताक्षरित पत्रमा विभिन्न भवितव्य घटना, दुर्घटना तथा आत्महत्याजस्ता दुःखद घटनामा पञ्चायतकालदेखिका कानुनी एवं प्रशासनिक झन्झटका कारण आम नागरिकले सास्ती भोगिरहेको उल्लेख गरिएको छ ।

पत्रमा लोकतान्त्रिक हुँदै गणतान्त्रिक मुलुकमा प्रवेश गरिसक्दा पनि मृतकको पोस्टमार्टमका लागि जिल्ला सदरमुकामसम्म लैजानुपर्ने अवस्थाले मृतकका परिवारलाई थप आर्थिक तथा मानसिक पीडा हुने गरेको जनाइएको छ ।

नगरपालिकाले यस्तो कुप्रथालाई हटाई स्थानीय सरकार, स्थानीय प्रशासन र मृतकका परिवारको रोहवरमा कानुनी प्रक्रिया टुंग्याई सम्बन्धित परिवारलाई शव जिम्मा दिने व्यवस्था गर्न कानुन संशोधन गर्न माग गरेको छ ।

पाख्रीबास नगरपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई सम्बोधन गर्दै पठाएको पत्रमा पोस्टमार्टमसम्बन्धी विद्यमान व्यवस्थालाई समयानुकूल संशोधन गरी स्थानीय तहबाटै सहज सेवा उपलब्ध गराउने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ ।