धनकुटामा भएको निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविरमा ९७२ जनाले लिए स्वास्थ्य सेवा

धनकुटा FM
१७ कार्तिक २०८३, सोमबार

धनकुटा । धनकुटामा सञ्चालन गरिएको निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविरबाट ९ सय ७२ जनाले शल्यक्रिया तथा उपचार सेवा पाएका छन् ।

अलोहा मेडिकल मिसन, हवाई, अमेरिकाको प्राविधिक सहयोगमा धनकुटा अस्पतालमा सात दिनसम्म सञ्चालन भएको शिविरमा १ हजार १७ जनाले नाम दर्ता गराएका थिए ।

सो शिविरमा ७६ जनाको जटिल शल्यक्रिया, ४ सय ५३ जनाको सामान्य शल्यक्रिया, ४ सय ४१ जनाको स्क्रिनिङ तथा उपचार र दुई जनालाई कृत्रिम हात प्रदान गरिएको छ । शिविरमा हर्निया, हाइड्रोसिल, पित्तथैली, पाठेघर खसेको समस्या, जनरल सर्जरी तथा फिस्टुलालगायतका समस्याको शल्यक्रिया गरिएको थियो। त्यस्तै नाक–कान–घाँटीसम्बन्धी समस्या लगायतका बिरामीलाई पनि उपचार सेवा प्रदान गरिएको थियो ।

शिविरमा धनकुटा नगरपालिकाबाट सबैभन्दा बढी ५ सय ६६ जनाले नाम दर्ता गराएका थिए । तीमध्ये ५ सय ५६ जनाले शल्यक्रिया तथा उपचार सेवा पाएका छन् । त्यसैगरी पाख्रिबासबाट १ सय १०, छथरजोरपाटीबाट ७८, महालक्ष्मीबाट ७१, सहिदभूमिबाट ७२, साँगुरीगढीबाट २९ र चौबिसेबाट २५ जनाले नाम दर्ता गराउको आयोजकले जनाएको छ । अन्य जिल्लाबाट समेत ६६ जना उपचारका लागि आएका थिए ।

आर्थिक अभावका कारण शल्यक्रिया तथा उपचार गराउन नसकेका बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले जिल्लाका साथै आसपासका क्षेत्रका नागरिकलाई समेत राहत पुर्‍याएको छ ।