धनकुटाको लेगुवामा ४७ हजार ४४० रुपैयाँ बराबरका अखाद्य वस्तु जफत
धनकुटा । धनकुटाको लेगुवामा ४७ हजार ४४० रुपियाँ बराबरका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय लगायतको संयुक्त टोलीले महालक्ष्मी नगरपालिका वडा नं. ५, लेगुवास्थित रामबजारका किराना तथा खुद्रा पसलमा गरिएको अनुगमनका क्रममा उपभोग्य मिति नाघेका खाद्यान्न, बेकरी तथा पेय पदार्थ फेला परेपछि जफत गरी नष्ट गरेको हो ।
अनुगमनका क्रममा केही पसलमा मूल्यसूची नराखिएको, खरिदबिक्रीको बिल नभएको र पसल दर्ता नगरी सञ्चालन गरिएको समेत पाइएको थियो । ती पसललाई आवश्यक प्रक्रिया पूरा गरी व्यवसाय दर्ता गरेर सञ्चालन गर्न तथा देखिएका कमजोरी सुधार्न निर्देशन दिइएको रिएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका खरिदार दिवस खड्काले बताउनुभयो ।
पसलमा सामान राख्दा र उपभोक्तालाई बिक्री गर्दा उपभोग्य मिति जाँच गर्न अनुगमन टोलीले आग्रह गरेको छ । म्याद गुज्रिएका खाद्यवस्तु भेटिएका पसललाई आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउन चेतावनीसमेत दिइएको छ । चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको खरिदबिक्रीमा उपभोक्ता नठगिऊन् भन्ने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस