नुवाकोटबाट डेढ लाखमा ल्याइएको गोरु बन्यो गोरु जुधाई मेलाको च्याम्पियन

धनकुटा एफ. एम.
२ माघ २०८२, शुक्रवार

धनकुटा । धनकुटाको मुगामा भएको गोरु जुधाई महोत्सवमा नुवाकोटबाट किनेको ल्याइएको गोरु प्रथम भएको छ ।

धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ७ जगेगैरीमा भएको गोरु जुधाई मेलामा धनकुटाको पाख्रीवास वडा नं. १० खत्री गाउँका युनिस विश्वकर्माले नुवाकोटबाट १ लाख ५० हजार रुपैयाँमा खरिद गरेको ल्याएको गोरु प्रथम भएको हो ।

युनिश विकको सो गोरुले महालक्ष्मी नगरपालिकाका अरुण दाहालको गोरुलाई पराजित गर्दै प्रथम भएको हो । सो गोरुका धनी विश्वकर्माले जितसँगै ४० हजार रुपैयाँ प्राप्त गर्नुभयो । दोस्रो स्थान प्राप्त गरेको गोरु धनी अरुण दाहालले उपविजेता बन्दै ३० हजार रुपैयाँ प्राप्त गर्नु भयो । पाख्रिवास नगरपालिका वडा नं. १० का राजकुमार राईको गोरु तेस्रो भयो । सो गोरुका धनी राईले २० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

प्रगतिशील सेवा समाज मुगाले प्रत्येक वर्ष गोरु जुधाई मेला आयोजना गर्ने गरेको छ । यो पटकको गोरु जुधाई मेलामा १७ वटा गोरुले प्रतिष्पर्धा गरेको आयोजक संस्था प्रगतिशील सेवा समाजका सचिव शंकर बराइलीले बताउनु भयो ।

माघी मेलाको अवसरमा अयोजना गरिएको सो कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमण पराजुली, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, पाख्रिबास नगरपालिकाका पूर्व नगर प्रमुख वृषबहादुर राई, पाख्रिबास नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष देवेन्द्रबहादुर तामाङ लगायतले शुभकामना दिनुभएको थियो ।

झण्डै १५ हजार अवलोकनकर्ता सहभागी भएको सो मेलाको सभापतित्व संस्थाका अध्यक्ष गोपाल विश्वकर्माले गर्नुभएको थियो । गोरु जुधाइलाई स्थानीय संस्कृति, पहिचान र पर्यटन प्रवद्र्धनसँग जोडेर हेरिएको छ । यो कार्यक्रमले ग्रामीण क्षेत्रमा चहलपहल बढ्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । धनकुटामा हुने गोरु जुधाइ हेर्न छिमेकी जिल्लाबाट समेत दर्शक आएका थिए ।