धनकुटाको साहित्यको विकासमा इट्टा थप्दै चियासँग कविता, तेह्रौ श्रृंखला सम्पन्न

धनकुटा FM
२८ वैशाख २०८२, शनिबार

धनकुटा । चियाँसँग कविता कार्यक्रमको तेह्रौं श्रृंखला धनकुटामा सम्पन्न भएको छ ।

धनकुटाकै पहिलो सामुदायीक रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविताको तेह्रौं श्रृंखलामा कविहरुले आफ्नो सिर्जनामार्फत समाज परिवर्तनसँगै पछिल्लो राजनीतिक घटना क्रमका बारेमा समेत टिप्पणी गरेका छन् । साथै चियाँसँग कवितामा नयाँ र पुराना सर्जकहरुको आकर्षण पनि बढ्दै गएको छ ।

चियासँग कविता कार्यक्रमको तेह्रौं श्रृंखलामा सर्जकहरु मुकुन्द प्रयास, धनश्याम बराल औलाली, रमेशचन्द्र अधिकारी, बद्रीनाथ अधिकारी, भीम राई, डिल्लीराम फुँयल, बन्देश विहानी, कृष्ण लुइँटेल, रेखा क्षेत्री, रन्जिता खड्का, नेहा राई लगायतले आफ्ना साहित्यीक सिर्जनाहरु प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा ललित विश्वकर्मा र चन्द्रकला धमलाले गीत प्रस्तुत गरेर चियासँग कविता कार्यक्रमलाई संगीतमय बनाउनु भएको थियो ।

सो कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले चियासँग कविता कार्र्यक्रमले धनकुटाको साहित्य क्षेत्रको विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले साँगुरीगढी गाउँपालिकाले पनि साहित्यको क्षेत्रको विकासका लागि पहल गर्दै आएको बताउनु भयो । उहाँले चियासँग कविता कार्यक्रम हेर्दा र सुन्दा सामान्य लागे पनि यसले धनकुटाको साहित्यको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, सामुदायीक रेडियो प्रशारक संघ (अकोराव) का केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरिबहादुर लम्जेल, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ, दलित अधिकारकर्मी रविन्द्र नेपाली, सहिद सरोकार समाजका अध्यक्ष तिलक प्रसाद राई लगायतले धनकुटामा चियासँग कविता कार्यक्रमले धनकुटाका नयाँ र पाका पुस्ताका साहित्यकारहरुले समेत आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर जुराएको बताउनु भयो ।

सो तेह्रौं श्रृंखलाको सञ्चालन भने रेडियो धनकुटा एफएम व्यवस्थापन समिति सचिव सरिता बराइलीले गर्नु भएको थियो ।

यही फागुन २ गतेदेखि धनकुटामा निरन्तर साप्ताहिक रुपमा चियाँसँग कविता भइरहेको छ । धनकुटाको साहित्यीक विकासका लागि भन्दै शुरु गरिएको चियासँग कविता कार्यक्रमलाई नयाँ र पुराना पुस्ताका सर्जकहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको चियासँग कविता कार्यक्रमका सञ्चालक गोपाल बराइलीले बताउनु भयो ।