धनकुटामा असार १५ सम्म ११ प्रतिशत खेतमा धान रोपाईं

धनकुटा FM
१५ असार २०८२, आइतबार

धनकुटा । आज असारको १५ गते । यो बेलासम्म झण्डै आधाउधी रोपाई भइसक्नुपर्ने हो । तर धनकुटामा आजसम्म ११ प्रतिशत खेतमा मात्र धान रोपाई भएको छ ।

धनकुटामा सरदर ४० हजार ७ सय २३ हेक्टर क्षेत्रफल खेती योग्य छ । असारे धान खेती हुने करिब ४ हजार ९ सय ३८ हेक्टर रहेकोमा आज साँझसम्म ५ सय ४३ दशमलव २७ हेक्टर खेतमा मात्र धान रोपाइ भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिनु भयो ।

धान रोपाई सुरुको अवस्थामा रहेको र चैते धान रोपाई हुने क्षेत्रमा धानवाली समेत उठाउन बाँकी रहेकोले रोपाइको क्षेत्रफल कम देखिएको हो । तर अब धमाधम खेतीको काम हुने भएकाले अबको १५ दिनमा धनकुटामा धान रोपाइको क्षेत्रफल धेरै प्रतिशतले बृद्धि हुने प्रमुख रानाको भनाई छ ।

धनकुटामा अधिकांस खेत आकासे पानीको भरमा रोपाइ गर्नुपर्ने बाध्यता रहेको छ । साथै समयमै पानीसमेत नपर्दा किसानले धान रोप्न सास्ती खेप्दै आएका छन् ।