धनकुटाको साँगुरीगढीमा ५ जना भूमिहीन सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण

धनकुटा FM
३१ असार २०८२, मंगलबार

धनकुटा । भूमिव्यवस्था समस्या आयोग जिल्ला समिति धनकुटाले धनकुटाको साँगुरीगढी गाउँपालिका भित्रका ५ जना भूमिहीन सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ ।

भूमिव्यवस्था समस्या आयोग जिल्ला समिति धनकुटाले साँगुरीगढी गाउँपालिका वडा नं. ३ स्थित फुवाफोकका कञ्चन माझी, सुनेत्र माझी र आईतमान माझी, वडा नम्बर ९ स्थित अहालेका दुर्गाबहादुर राई र वडा नम्बर ७ स्थित लेउतीका विष्णुकुमार राईलाई धनीपुर्जा वितरण गरेको हो ।

भूमिव्यवस्था समस्या आयोग जिल्ला समिति धनकुटाले पहिलो चरणमा गरेको कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार श्रेष्ठसहित सम्पूर्ण वडा अध्यक्षहरु र कार्यपालिकाका सदस्यहरु धनीपुर्जा हस्तान्त्रण गरेको थियो ।

उनीहरुलाई पूर्व खानेपानी मन्त्री तथा संघीय सांसद राजेन्द्रकुमार राई, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई र भूमि समस्या समाधान आयोग धनकुटाका अध्यक्ष देवमान राईले सामूहिक रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

धनीपुर्जा वितरण कार्यक्रमममा पूर्व खानेपानी मन्त्री तथा संघीय सांसद राजेन्द्रकुमार राईले जग्गा नभएकाहरुको पहिचान गरी थप धनीपुर्जा वितरण गर्न पहल गर्ने बताउनुभयो । धनीपुर्जा पाउने किसानहरुलाई जमिनमा प्रशस्त तरकारी र फलफूल तथा खाद्यान्न बाली लगाएर उब्जाउ गरी आम्दानी बढाउन आग्रह गर्नुभयो ।

सो कार्यक्रममा कोशी प्रदेस सभा सदस्य निरन राई, जिल्ला समन्वय समिति धनकुटाका समन्वय प्रमुख निरेन तामाङ, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पाख्रेल, भूमिव्यवस्था समस्या आयोगका पूर्व अध्यक्ष बलबहादुर राई, राजनीनिक दलहरुको तर्फबाट रोशन श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले बोल्नुभको थियो ।

भूमिव्यवस्था समस्या आयोग जिल्ला समिति धनकुटाका सदस्य तथा साँगुरीगढी, चौविसे र महालक्ष्मी नगरपालिका संयोजक विजय सन्तोषी राईले सञ्चालन गर्नुभएको पहिलो चरणका कार्यक्रमको सभापतित्व भूमिव्यवस्था समस्या आयोग जिल्ला समिति धनकुटाका अध्यक्ष देवमान राईले गर्नुभएको थियो भने दोस्रो चरणको कार्यक्रम साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईको सभापतित्वमा भएको थियो । दोस्रो चरणको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मुना राईले स्वागत गर्नुभएको थियो ।