धनकुटामा तीजको रौनकता बढ्दै, अनेमसंघ धनकुटाद्धारा तीज विशेष शुभकामना आदानप्रदान सम्पन्न
धनकुटा । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकँदै गर्दा धनकुटामा तिजको रौनकता छाएको छ । दिनुहुँ विभिन्न संघ संस्था र राजनीतिक दल निकट कहिला संघ संगठनहरुले तीजका अवसरमा शुभकामना आदानप्रदान गरिरहेका छन् ।
यतिबेला धनकुटाका हल भएका होटलहरुमा तीजका कार्यक्रमले भ्याइनभ्याई छन् । राजनीतिक दलहरुका नेता, संघ संस्थाका प्रमुखहरु र समाजसेवीहरुलाई तीजको कार्यक्रममा पुग्नै हम्मेहम्मे परिरहेको छ । त्यसमा पनि महिला जनप्रतिनिधि र महिला नेतृहरुलाई जसरी पनि तीजका कार्यक्रममा जानुपर्ने बाध्यता छ ।
अहिले धनकुटा बजार तिजमय बनेको छ । धनकुटाका सडकहरु राता साढी लगाएका महिलाहरुले रंगीन बनेको छ । कार्यक्रम स्थल वरपर नै महिलाहरुको ताँती लागेको प्रशस्त देखिन्छ । यसले गर्दा पनि अहिले धनकुटासहितका स्थानहरुमा तीजको रौनकता निक्कै बढेको छ ।
यसैक्रममा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ, नगर कमिटि धनकुटाले तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान, समान सहभागिताका लागि समृद्ध संगठन भन्ने नारासहित तीज विशेष शुभकामना आदानप्रदान आयोजना गरिएको थियो । कार्यक्रम धनकुटा श्रीवानिमा रहेको नेकपा एमाले पार्टी कार्यालयको भएको थियो ।
सो कार्यक्रमको पूर्व मन्त्री तथा संघीय सांसद राजेन्द्र कुमार राईले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सो कार्यक्रममा सांसद राईले तजिलाई खुसी र रमाइलो पर्वको रुपमा मनाउन आग्रह गर्नुभयो ।
अखिल नेपाल महिला संघ, नगर कमिटि धनकुटाका अध्यक्ष तुलषा पौडेलको सभापतित्वमा भएको तिज विषेश कार्यक्रममा प्रदेशसभा सदस्यहरु निरन राई र इन्द्रमणी पराजुली, नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बु, सचिव पर्शुराम नेपाल, धनकुटा नगर कमिटी अध्यक्ष अर्जुन छारा, अखिल नेपाल महिला संघ धनकुटा अध्यक्ष गोमा कार्की लगायतको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा झण्डै एक हजार जना महिलाहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा दिनभर नै महिलाहरुले नाचगान गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव पार्वती अमात्यले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस