अन्तरिक सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै संसद विघटन हुने 

धनकुटा FM
२७ भदौ २०८२, शुक्रवार

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएको छ । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

प्रधानसेनापतिको उपस्थितिमा आन्दोलनरत जेनजी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की एवं राष्ट्रपति रामचन्द्र र उनको टिमका प्रतिनिधि बीचको छलफल केहीबेरअघि टुंगिएको थियोे । सपथलगतै जेन–जीका प्रतिनिधिसँगको परामर्शमा अन्तरिम मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य सुरु हुनेछ ।

उहाँले शपथ ग्रहण गरेपछि शीतल निवासमै क्याबिनेट बैठक बस्ने तयारी गरिएको छ ।  अहिले नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पनि शीतलनिवास पुगेका छन् । अहिले राष्ट्रपति कार्यालय बाहिर सूचनाकर्मीको बाक्लो भीड लागेको छ ।

जेन–जीले गरेको आन्दोलनकै बीच २४ भदौमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । ओलीको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेसँगै ओली नेतृत्वको गठबन्धन सरकार स्वतः विघटन भएको थियो ।

जेन–जीले अन्तरिम सरकार गठनको मागसँगै संसद् विघटनको पनि माग गरेको थियो । अन्तरिम सरकार गठनमा सरोकारवाला सहमत भए पनि संसद् विघटनको प्रस्तावमा धेरैको विमति थियो । बैठकले संकटकालको सिफारिस गर्ने र राष्ट्रपति रामचन्द्र पौडेलले अनुमोदन गरेपछि राष्ट्रपतिले विषम परिस्थितिमा प्रयोग गर्न पाउने संवैधानिक विशेष अधिकारअनुसार संसद विघटन हुने जनाएको छ ।

कार्कीले प्रधानन्यायधीश हुँदा तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्त बदर गर्ने बहुचर्चित फैसला गर्नुभएको थियो । त्यस्तै, सुडान घोटाला काण्डका दोषीलाई सजाय सुनाउने फैसलासमेत उहाँले गर्नुभएको थियो । उहालाई भष्ट्राचार र बेथितिविरुद्ध सशक्त रूपमा उभिने निडर व्यक्तिका रुपमा जेन–जीले अन्तरिम सरकार प्रमुखमा प्रस्ताव गरेको हो ।