जेनजी आन्दोलनका घाइते : जसलाई लाग्यो ९ गोली, अझैं छ पेटमा १ गोली (भिडियो सहित)

गोपाल बराइली
२० असोज २०८२, सोमबार

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ ठूलो घर निवासी अविनास राईको उमेर भर्खर २० वर्ष भयो । धनकुटाको तुलसी मेयर इङ्लिस स्कुलबाट भर्खरै प्लस टु सिध्याउनुभएका राईले आफु यो कलिलो उमेरमा घाइते भएर बस्नुपर्छ भन्ने कल्पनासमेत गर्नुभएको थिएन ।

अझ त्यसमा पनि शरिरमा गोली बोकेर बस्नुपर्ला भन्ने कल्पनासमेत पनि गर्नुभएको थिएन । तर, यही भदौं २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा उहाँ घाइते हुनुभएको छ ।

भदौं २३ गते उहाँ झापाको दमक भएको जेनजी आन्दोलनमा सहभागी बन्नु भएको थियो । उहाँलाई राजनीतिप्रति खासै चासो थिएन । तर बढ्दो घुसखोरीतन्त्र, सत्ताप्रतिको वितृष्णा र बेतिथीले उहाँलाई आन्दोलनमा होम्यायो । तर, दुर्भाग्य शुरुकै दिन अर्थात् भदौं २३ गते दिउँसो १ बजेतिर उहाँ प्रहरीको गोली लागेर घाइते हुनुभयो ।

उहाँको शरिरका विभिन्न भागा प्रहरीले चलाएको गोली ९ ठाउँमा लाग्यो । ८ वटा बाहिर निकालिएको छ । अझैं उहाँको शरिरमा एउटा गोली छ । त्यही गोली बोकेर उहाँ परिवर्तनको आशा बोकिरहनु भएको छ ।

‘नोवेल हस्पिटलमा २ पटक अप्रेसन भयो । हस्पिटलमा लाग्ने खर्च पनि निःशुल्क नै भयो । तर दबैपानीको पैसा दमकमा दाईहरुले उठाएर तिरिदिनु भयो’ उहाँले भन्नुभयो, ‘गोली लाग्न त धेरै ठाउँ लागेको रैछ । डाक्टरले ८ वटा गोली निकाल्नु भो । अर्काे चाँही अहिले निकाल्दा समस्या हुन्छ । पछि आवश्यक परे निकाल्नुपर्छ भन्नुभएको छ ।’

उहाँ अहिले सामान्य हिडडुल गर्न मात्रै सक्नुहुन्छ । तर उहाँको सपना ठूलो छ । कम्तीमा पनि देशमा सुशाषन भइदिए नेपालमै केही गर्न सकिन्थ्यो भन्ने उहाँको आशा छ । तर दुर्भाग्य, अभिनास राई जस्ता युवा पुस्ताले सजिलै सुशाषन देख्न पाउने अवस्था छैन । त्यसका लागि अझैं संघर्ष गर्नुपर्ने उहाँको बुझाई छ ।

के जेनजी पुस्ताले उठाएका माग र मुद्दाहरु पूरा हुन्छन् त ? धनकुटाका पहिचानवादी नेता तथा जनजाती आन्दोलनका अगुवा सन्जय सन्तोषी राई भन्नुहुन्छ, ‘अबको नेतृत्व युवा पुस्ताको हातमा जानुपर्छ । अब पनि युवाका जायज मागलाई सम्बोधन नगर्ने हो भने मुलुक असफलतातिर जान्छन् । त्यही भएर पनि युवाले खोजेको जस्तो शाषन व्यवस्था ल्याउनुपर्छ । त्यसको विकल्प पनि छैन ।’

यही भदौं २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. १० चुङमाङका छत्रमान कुुथुमीले विरगती प्राप्त गर्नुभयो भने धनकुटा नगरपालिका वडा नं. ५ का अविनास राई घाइते हुनुभएको छ ।

राजनीतिमा लाग्नु वा नलाग्नु फरक कुरा हो । तर अविनास राईहरुले बगाएको रगतको अवमुल्यन हुन्छ की भन्ने चिन्ता आम जेनजी पुस्ताको छ ।