लाप्चेटार फुटबल प्रतियोगिता अविरल वर्षाका कारण स्थगित, २० गतेदेखि पुनः सुचारु हुने

कुशल याख्खा
१४ कार्तिक २०८२, शुक्रवार

धनकुटा । निरन्तरको वर्षाका कारण साँगुरिगढीमा भइरहेको तेस्रो अजङ्गको बरको रुख आमन्त्रित फुटबल प्रतियोगिता सथसगत भएको छ ।

विहीबारदेखि निरन्तर रुपमा वर्षा भएपछि धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ५ लाप्चेटारमा जारी तेस्रो अजङ्गको बरको रुख आमन्त्रित फुटबल प्रतियोगिता केही दिनका लागि स्थगित भएको हो ।

वर्षाका कारण स्थगित भएको सो प्रतियोगिताका बाँकी खेलहरु अब कार्तिक २०, २१ र २२ गते सञ्चालन हुनेछ ।
क्लबका अध्यक्ष सुबोध अधिकारीका अनुसार मैदान मर्मत र खेल सञ्चालनको सहज वातावरण बन्न केही समय लाग्ने भएकाले प्रतियोगितालाई अस्थायी रूपमा रोकिएको हो ।

लाप्चेटार युवा क्लबद्वारा प्रत्येक वर्ष आयोजना हुँदै आएको सो प्रतियोगिता यो वषृ कात्तिक १२ गतेदेखि शुरु भएको थियो भने सो प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहेको छ ।

स्थानीय युवाहरूको सक्रिय सहभागिता र खेलप्रेमी दर्शकहरूको उत्साहपूर्ण उपस्थितिले प्रतियोगिताले गाउँमा उत्सवमय वातावरण सिर्जना गरेको थियो । तर पछिल्ला केही दिनदेखिको अविरल वर्षाका कारण खेलमैदानमा पानी जमिन र माटो बगानले क्षति पुगेपछि खेल सञ्चालन गर्न असजिलो भएको आयोजकहरूले बताएका छन् ।