एमाले धनकुटाले महाधिवेसन प्रतिनिधि छनोटका लागि पुनः निर्वाचन नगर्ने
धनकुटा । नेकपा एमाले धनकुटाले महाधिवेसन प्रतिनिधि छनोटका लागि पुनः निर्वाचन नगर्ने भएको छ ।
आगामी २७ गतेदेखि हुने नेकपा एमालेको ११ औं महाधिवेसनमा प्रतिनिधि छनोटका विषयमा विवाद उत्पन्न भएको थियो । धनकुटामा नेकपा एमालेका धनकुटा इन्चार्ज राजेन्द्र राई पक्षले सहमति विपरित एकलौटी रुपमा महाधिवेसन प्रतिनिधि चयन गरेको भन्दै इन्द्रमणी पराजुली पक्षले केन्द्रमा उजुरी गरेको थियो । सोही उजुरीका आधारमा धनकुटाबाट महाधिवेसन प्रतिनिधि छनोट पारदर्शी नभएको र फर्जी मतदान गरिएको भन्दै मंशिर १६ गतेको मितिमा ५ दिनभित्र पुनः मतदान गर्न निर्देशन दिएको थियो ।
केन्द्रले गरेको निर्देशनको मिति टर्न लाग्दा नेकपा एमाले धनकुटाले अब महाधिवेसन प्रतिनिधि छनोटमा पुनः निर्वाचन गर्न नसकिने स्पष्ट संकेत दिएको छ । नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले मंसिर १३ गते नै सबै प्रक्रिया पूरा गरेर महाधिवेसन प्रतिनिधि चयन भइसकेकाले अब कुनै पनि हालतमा अर्काे निर्वाचन हुन नसक्ने बताउनु भयो ।
रेडियो धनकुटा एफएमसँग कुरा गर्दै अध्यक्ष आङ्लाले केन्द्रले पनि केका आधारमा निर्वाचन गर्नु भनेर प्रष्ट नभनेको र पार्टीले सबै विधि र प्रक्रिया अपनाएर महाधिवेसन छनोटका लागि निर्वाचन सम्पन्न गरिसकेकाले पुनः निर्वाचन हुन्छ भनेर कल्पना समेत गर्न नसकिने बताउनु भयो ।
केन्द्रको निर्देशन आएलगत्तै राई पक्ष काठमाडौं पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गरएको थियो । सो टोली काठमाडौंबाट धनकुटा फर्किए लगत्तै पराजुली पक्ष पनि काठमाडौंं पुगेको छ ।
धनकुटाबाट महाधिवेसनमा १३ जना प्रतिनिधिका लागि ३२ जनाको उम्मेदवारी दर्ता गराएका थिए । तर पराजुली पक्षले सहमतिका नाममा अवैधानिक तरिकाले निर्वाचन गराउन खोजेको भन्दै पत्रकार सम्मेलनमार्फत विरोध जनाएको थियो । तर विरोधका बाबजुत पनि भएको निर्वाचनमा खुल्लातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ, महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र सम्झना आले र युवातर्फ सरोज राई निर्वाचित निर्वाचित हुनुभएको थियो भने दलिततर्फ नैन विश्वकर्मा सर्वसम्मत हुनुभएको थियो । निर्वाचित सबै प्रतिनिधि केपी ओली पक्षका हुन् ।
केन्द्रको पत्र अनुसार निर्वाचन नभएपछि मंसिर १३ गते निर्वाचित भएका सबै महाधिवेसन प्रतिनिधि ११ औं महाधिवेसनमा जाने तयारी गरिरहेका छन् । नेकपा एमाले धनकुटाका प्रचार विभाग प्रमख रविन कटेलका अनुसार निर्वाचित सबै महाधिवेसन प्रतिनिधि काठमाडौं जाने र महाधिवेसनमा भाग लिन नपाउने अवस्था आए सोही अनुसार छलफल हुनेछ । राजेन्द्र राई पक्ष जसरी पनि पेलेर १३ जनालाई महाधिवेसनमा सहभागी बनाउने पक्षमा लागेका छन् भने पराजुली पक्ष पुनः निर्वाचन गराउने, त्यो सम्भव नभए १३ जनालाई रोकेर महाधिवेसनमा भाग लिन जान नदिने पक्षमा लागेको छ ।


प्रतिक्रिया दिनुहोस