राजनीतिक आडमा थलिँदै धनकुटा क्याम्पस, बन्यो कहिले नखुल्ने ५ लाखको शौचालय

‘चावी त यहीँ हो जस्तो लाग्छ, खिया लागेर नखुलेको होला’

धनकुटा FM
२३ वैशाख २०८३, बुधबार

धनकुटा । न्यून विद्यार्थी, अत्याधिक राजनीतिकरण । लथालिङ्ग व्यवस्थापन, आफन्तकोे भर्तिकेन्द्र । बन्छन् ठूला संरचना, प्रयोगमा आउँदैनन् । भएका संरचनामा धुलैधुलो । भएका सामाग्री पनि प्रयोग विहीन । यस्तै छ धनकुटा क्याम्पसको पछिल्लो परिचय । अर्थात् क्याम्पस प्रशासनको लापरवाहीले धनकुटा क्याम्पसको पहिचान धुमिल बन्न पुगेको छ ।

पूर्वकै सुन्दर नगरी धनकुटाको पुरानो र ऐतिहासिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पस । बाहिरबाट हेर्दै लोभलाग्दो । धेरैले नाम सुन्दा पनि वा भन्छन् । तर, यतिबेला राजनीतिक प्रभावका कारण उठ्नै नसक्नेगरी थला परेको छ ।

शैक्षिक अवस्था खस्किँदो अवस्थामा छ भने विद्यार्थी संख्या प्रत्येक वर्ष ‘दिनमा दुई गुना, रातमा चार गुना’ भनेझैं घटिरहेको छ । धनकुटा क्याम्पसको मान दिनदिनै ओरालो लागिरहेको छ । यसको मुख्य कारण भनेको राजनीतिक आड र यसको प्रभावमा भइरहेको चलखेल नै हो ।

कुनैबेला विद्यार्थीको भीड हुने धनकुटा क्याम्पसमा यतिबेला विद्यार्थी औँलामै गन्न सकिन्छ । तर राजनीतिक आडमा मक्किदै गएको क्याम्पसमा विद्यार्थी र प्राध्यापकको संख्या झण्डै बराबरीकै अवस्थामा छ । अर्थात् अहिले विद्यार्थी कम छन्, पढाउने धेरै ।

अब चर्चा गरौं क्याम्पसमा बनाइएको अपाङगमैत्री शौचालयको । यो सुन्दा लाग्छ भिरालो पाखामा बनेको क्याम्पस निक्कै सुविधासम्पन्न होला । अपाङगता भएका व्यक्तिहरुले सजिलै शौचालयसम्म पुग्न पाउँदा रहेछन्, यस्तो पनि लाग्नसक्छ । तर क्याम्पसमा बनाइएको अपाङ्गमैत्री शौचालय यस्तो छ, जहाँ पुग्न दर्जनौं सिँढी चढ्नुपर्छ ।

‘यो दाताबाट सहयोगमा बनेका हुन्, उपकरणहरु पनि आएका हुन्, आए पनि सञ्चालनका लागि बजेट छैन । उपकरणको लागतबारे पनि हामीलाई विस्तृत जानकारी छैन’ धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतले भन्नुभयो, ‘५ लाख जति शौचालयको लागि आएको हो । त्यो निकासा गरियो । अन्य उपकरणको लागत हामीसँग हुँदैन ।’

के तपाई तस्विरमा देखिएको यो शौचालय हेर्दा ५ लाख रुपैयाँ लाग्यो होला त ? जुन शौचालय बनेको ४ वर्ष पूरा भयो । अहिलेसम्म एक पटक पनि प्रयोग भएको छैन । केही समयअघि सञ्चारकर्मीको टोली पुग्दा शौचालयको चावी कुन हो भनेर कर्मचारीले पत्ता लगाउन सकेनन् । अपाङ्गता विद्यार्थी सहायता केन्द्रका संयोजक केवलराम पराजुलीले चावीको झुप्पा देखाउँदै भन्नुभयो, ‘चावी त यहीँ हो जस्तो लाग्छ, खिया लागेर नखुलेको होला ।’

यो शौचालय बनाइएको स्थान देख्दा लाग्छ अपाङगमैत्री होइन, दाताको पैसा पचाउन बनाइएको हो । केन्द्र रहेको स्थानमा ह्विलचेयर पुग्ने सहज पहुँच समेत छैन । ‘हामीले अपाङ्गता भएकाहरुलाई त्यो शौचालयसम्म पुग्ने बाटो बनाउन पटकपटक माग गरेका हौं’ स्ववियु सभापति युवा तिमल्सिनाले भन्नुभयो’ ‘अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न नसक्दा सबैलाई खुल्ला गरौं न भन्ने प्रस्ताव गर्दा क्याम्पस प्रशासनले ‘त्यो प्रोजेक्टको हो, त्यसलाई चलाउन मिल्दैन’ भन्ने गरेको छ ।’

त्यति मात्रै होइन, धनकुटा बहुमुखी क्याम्पसमा फरक क्षमता भएका विद्यार्थीलाई अध्ययनमा समान अवसर प्रदान गर्न चार वर्षअघि स्थापना गरिएको अपाङ्गता विद्यार्थी सहायता केन्द्र अहिलेसम्म सञ्चालनमै आउन सकेको छैन । अपाङ्गता विद्यार्थी सहायता केन्द्र जनशक्ति, बजेट र व्यवस्थापनको अभावका कारण प्रयोगविहीन बनेको छ ।

दाताहरूको सहयोगमा स्थापना गरिएको उक्त केन्द्रमा सहायक उपकरण, अपाङ्गमैत्री पूर्वाधार र शौचालयको व्यवस्था गरिए पनि प्रयोगमा आउन नसकेको हो । केन्द्रमा राखिएका कम्प्युटर, डिस्प्ले मोनिटर लगायतका विद्युतीय उपकरण धुलोले छोपेको छ ।

केन्द्रमा राखिएका कम्प्युटर, ल्यापटप र डिजिटल डिस्प्ले बोर्ड प्रयोगविहीन छन् । उपकरण बिग्रने जोखिमका कारण एउटा ल्यापटप क्याम्पस प्रमुख आफैँले र अरु प्रशासन शाखाले प्रयोग गरिरहेका छन् ।

यसलाई हेर्दा के देखिन्छ भने धनकुटा क्याम्पसले ‘मात पाएर पनि चाल नपाएको’ भन्नेमा कुनै शंका छैन । यहाँका भौतिक सामाग्री, शैक्षिक अवस्थामा सुधार र पुरानै अवस्थामा फर्काउन क्याम्पस प्रशासनले कुनै चासो देखाएको छैन ।