धनकुटामा सहिद भीमनारायण गोल्डकप सुरु, उद्घाटन खेलमा सहलेस विजयी

धनकुटा FM
१० जेठ २०८३, आइतबार

धनकुटा । धनकुटामा लामो इतिहास बोकेको शहीद भीमनारायण एक्स्ट्रिम एनर्जी ड्रिंक गोल्डकप फुटबल प्रतियोगिताको १८ औँ संस्करण धनकुटाको तल्लो टुँडिखेलमा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा सिराहाको सहलेस युवा क्लब विजयी भएको छ । उद्घाटन खेलमा सहलेसले राष्ट्रिय जागृति फुटबल क्लब इटहरीलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

निर्धारित ९० मिनेट तथा अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको थियो । रोमाञ्चक ट्राइब्रेकरमा सहलेसका दिवाकर चौधरी, फागुराम थारु, डेबिट टो मेसी र सुजन डंगोलले गोल गरे । रोमन भुजेलको प्रहार भने पोस्ट बाहिरिएको थियो ।

इटहरीका तर्फबाट निवास फुयाल, दोर्जे तामाङ र केल्भिनले गोल गरे । सुजन चौधरीको प्रहार पोस्ट बाहिरिएको थियो भने ओलाबी फिजको प्रहार सहलेसका गोलरक्षकले बचाउ गरेका थिए ।

यस वर्ष प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशिमा एक लाख रुपैयाँ वृद्धि गरिएको हो । उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । जेठ १० गतेदेखि सुरु भएको प्रतियोगिता जेठ १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले गर्नुभयो । तत्कालीन राज्यद्वारा २०३५ साल माघ २६ गते कोशी टप्पु क्षेत्रमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा २०५५ सालदेखि प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको आयोजकले जनाएको छ ।