९ बुँदे घोषणा पत्र जारी गर्दै सकियो दलित पत्रकार संघको दोस्रो महाधिवेसन, अध्यक्षमा बराइली चयन
काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ नेपालको काठमाडौंमा सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनले धनकुटामा विगत ३ दशकदेखि कार्यरत पत्रकार गोपाल बराइलीको अध्यक्षतामा ३५ सदस्य कार्य समिति चयन गरेको छ ।
‘लोकतन्त्रको मूल आधार विभेदमुक्त समाज, प्रेस स्वतन्त्रता र समावेशी पत्रकारिता हाम्रो आवाज‘ भन्ने नारासहित चन्द्रागिरि, काठमाडौंमा सम्पन्न संघको दोस्रो राष्ट्रिय महाधिवेशनले बराइलीको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । यसअघि बराइली संघको वरिष्ठ उपाध्यक्ष हुनुहज्थ्यो ।
सो महाधिवेसनबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दर्नाल, खुला उपाध्यक्षमा विनोद परियार, महिला उपाध्यक्षमा सावित्री रसाइली तथा समावेशी उपाध्यक्षमा भीमबहादुर गन्धर्व निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली, मधेश प्रदेश उपाध्यक्षमा भोला पासवान, बागमती प्रदेश उपाध्यक्षमा सुशील दर्नाल, गण्डकी प्रदेशबाट नरभूपाल विक, लुम्बिनी प्रदेशबाट मानसिंह विक, कर्णाली प्रदेशबाट टेकेन्द्र रसाइली तथा सुदूरपश्चिम प्रदेशबाट प्रेम विक निर्वाचित हुनुभएको छ । संघको महासचिवमा करन ताम्राकार निर्वाचित हुनभएको छ भने सचिवमा चिन्ता परियार, राजेशकुमार पासवान, सुनिता नेपाली र वसन्त विश्वकर्मा चयन हुनभएको छ । कोषाध्यक्षमा सञ्जय सौगात निर्वाचित हुनुभएको छ ।
काठमाडौंका् चन्द्रागिरिमा सम्पन्न सो महाधिवेसनले पिवि दियाली, हिरा परियार, कर्णबहादुर बिक, गणेश बिक, कुशल दलामी, अमिर रामदाम, मनिस बिक, अम्बिका परियार, अर्चना परियार, सुवास राम, मिना बिश्वकर्मा ,राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार लगायतलाई केन्द्रिय सदस्यमा चयन गरेको छ ।
९ बुँदे घोषणा पत्र जारी
संघले नेपालको संविधान २०७२ ले संवैधानिक रुपमा समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गर्दै सबै प्रकारको विभेद अन्त्य गरेपनि कानुन कार्यान्वयन प्रभावकारी नभएकोमा सरकारको ध्यानआर्कषण गरेको छ । साथै वर्तमान सरकारले नीजि तथा स्वरोजगार मिडियाहरुलाई ‘आर्थिक नाकाबन्दी’ गर्ने गरी सरकारी मिडियामा मात्र सूचनारविज्ञापन दिने नीतिको यो भत्सर्ना गर्दै सरकारी विज्ञापन सबै सञ्चारमाध्यमलाई समान रुपमा वितरण गर्न संघले माग गरेको छ ।
यसैगरी प्रेस काउन्सिल, सूचना विभाग, रासस, गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन सहित सरकारी निकायका सञ्चालक समितिमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न दोस्रो महाधिवेशनले माग गरेको छ । साथै वर्तमान सरकारले सरकारी सञ्चारमाध्यममा कार्यरत करार, सिफ्ट बेसिस, समचार बुलेटिनमा काम गर्ने दलित समुदायका पत्रकारहरुलाई नहटाउन माग गर्दै पेशागत सुरक्षाको ग्यारेन्टी गर्न भनिएको छ ।
यसैगरी समाचार लेखेकै कारण दलित समुदायका पत्रकारहरुमाथि भौतिक आक्रमण, धरपकड, धम्की जस्ता स्वतन्त्र प्रेस विरोधी गतिविधिहरु बन्द गरि राज्य जिम्मेवार बनी घटनमा संलग्नलाई कारवाही गर्न, दलित समुदायका पत्रकारको नेतृत्वमा सञ्चालित सञ्चारमाध्यमहरुलाई करछुट,सञ्चार सामाग्रीहरुमा अनुदानको व्यवस्था गर्न, पत्रकारिता तथा आमसञ्चार विषयमा अध्ययन गर्ने दलित समुदायका लागि छात्रवृत्ति सहित सहज रुपमा अध्ययन गर्ने वातावरण सुनिश्चित गर्न माग गरिएको छ ।
यसैगरी नेपाल पत्रकार महासंघले राष्ट्रिय दलित पत्रकार संघ नेपाललाई आंगिक संस्थाका रुपमा स्विकार गरी सहकार्य गर्न भनिएको छ । महाविधेशनको समसामयिक चन्द्रागिरी घोषणापत्रका लागि उपाध्यक्ष विनोद परियारको संयोजकत्वमा सरिता बराईली, मानसिंह विश्वकर्मा, मिलन विक, र बसन्त विश्वकर्मा सदस्य रहेको समिति गठन गरिएको थियो । यसैगरी संस्थाका संस्थापक अध्यक्ष विनोद पहाडीले प्रस्ताव समितिले तयार पारेको तीन बुँदे संकल्प प्रस्ताव महाधिवेशनमा पेश गरेका थिए ।
महाधिवेशनले राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापना दिवस २०७६ जेठ १८ लाई आधार मानी प्रत्येक बर्ष जेठ १८ लाई सम्पूर्ण तहले उत्सवका रुपमा मनाउने संकल्प गर्ने घोषणा गरेको छ । यस्तै राष्ट्रिय दलित पत्रकार संघ नेपालको असोजदेखि मंसिरसम्मको तीन महिना संगठन जागरण अभियानका रुपमा अगाडि बढाउने गरी जिल्लाको असोज मसान्तसम्म, प्रदेशको कार्तिक मसान्तसम्म र केन्द्रीय समितिको मंसिर मसान्तसम्म साधारणसभा तथा अधिवेशन गर्ने संकल्प गरेको छ । यसैगरी राष्ट्रिय दलित पत्रकार संघ नेपालको विधानले तोके अनुसारको सदस्यता नविकरण, नियमित बैठक तथा अन्य विधान वमोजिमको काम कार्यान्वयन गर्ने संकल्प समेत गरेको छ ।
जेठ १८ गतेबाट चन्द्रागिरी नगरपालिकामा सुरु भएको दोस्रो महाधिवेशन बुधबार विहान सम्पन्न भएको हो । महाधिवेशनको पूर्व राष्ट्पती विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो भने विभिन्न जनवर्गीय संगठनका अध्यक्षहरुले सम्बोधन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस