प्रचारप्रसाद गर्दै धनकुटा आइपुग्यो चलचित्र ‘हली’ को टीम
धनकुटा । आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’ को निर्माण टोलीले प्रचारप्रसार अभियानलाई तीव्र बनाएको छ ।
असार १५ गतेदेखि सुरु गरिएको प्रचारप्रसार अभियानअन्तर्गत निर्माण टोली बुधबार धनकुटा आयपुगेको छ । प्रचारप्रसारको क्रममा वरिष्ठ कलाकार सरोज खनाल लगायतको टोलीले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रबारे जानकारी दिएका छन् । सो चलचित्र ‘हली’ को निर्माता जस्मिन श्रेष्ठ धनकुटाको महालक्ष्मी निवासी हुनुहुन्छ ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन ओम प्रतीकले गर्नुभएको छ । सो चलचित्रमा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ ।
चलचित्र ‘हली’को विशेष गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको प्रस्तुति रहेको छ । उक्त गीतको कोरियोग्राफी कविराज गहतराज ले गरेका छन् भने अन्य गीतमा निर्देशक ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको छ ।
व्यवसायीद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सहनिर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन् । चलचित्रको छायाङ्कन राहुल राईले गरेका हुन् भने सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन् ।
चलचित्रमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको सङ्गीत रहेको छ । गीतका शब्दमा निर्मात्री जस्मिन श्रेष्ठको सिर्जना रहेको छ भने बाबुल गिरी र शान्तिश्री परियारको स्वर रहेको छ । चलचित्रको द्वन्द्व निर्देशन कुमार महर्जनले गरेका छन् । नेसनल सिने ग्रुप प्रालिले वितरण गर्ने चलचित्र ‘हली’ को डिजिटल साझेदार ओएसआर डिजिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस