पूर्वाञ्चल गट ट्यालेन्टको सफलतापछि साउन १६ देखि नेश्नल गट ट्यालेन्ट हुने
असोज ३ गतेदेखि ‘मिस धनकुटा’ पनि हुने, देशभरबाट गायन र नृत्य प्रतिभाको खोजी गरिने
धनकुटा । धनकुटामा राष्ट्रियस्तरको ‘नेशनल गट ट्यालेन्ट–२०८३’ तथा ‘मिस धनकुटा–२०८३’ हुने भएको छ ।
धनकुटास्थित टिन्स क्रिउ डान्स सेन्टर एण्ड रिक्रिएसन मल्टिमिडिया एण्ड इन्टरटेन्मेन्टको आयोजनामा यही साउन १६ गतेदेखि राष्ट्रियस्तरको ‘नेशनल गट ट्यालेन्ट–२०८३’ तथा ‘मिस धनकुटा–२०८३’ हुने भएको हो ।
विगतका वर्षहरूमा सफलतापूर्वक सम्पन्न भएका पूर्वाञ्चल गट ट्यालेन्टका सात संस्करणपछि यस वर्ष प्रतियोगितालाई राष्ट्रिय स्तरमा विस्तार गरिएको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनुभयो । कला, संस्कृति तथा लुकेर रहेका प्रतिभाको खोजी र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको उहाँको भनाई छ ।
प्रतियोगिताको विजेताले ५ लाख नगद, ५ लाख बराबरको जीवन बिमाको पहिलो प्रिमियम, म्युजिक रेकर्डिङ, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख तथा तेस्रो हुनेले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त आयोजकले जनाएको छ ।प्रतियोगितामा गायन र नृत्य विधामा प्रतिस्पर्धा हुनेछ । उमेर समूहअन्तर्गत १३ वर्षमुनिका (जुनियर) र १४ वर्षमाथिका (सिनियर) गरी दुई समूहमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
अडिसन काठमाडौं, पोखरा, बुटवल, धरान, इटहरी, विराटचोक (मोरङ), दमक, बिर्तामोड, इलाम, फिक्कल, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, संखुवासभा, सिन्धुली, ताप्लेजुङ, पाँचथर र भारतको सिक्किम लगायतका स्थानमा सञ्चालन गरिने छ ।
नृत्यतर्फ युसिन यस्माली मगर, सुशान्त लिम्बू, दिपेश मगर र सुष्मा क्षेत्री निर्णायक रहने छन् भने गायनतर्फ जुनी खालिङ राई, दिनेश भारती, महेश राई र नवीन गजमेर निर्णायकको भूमिकामा रहने योगीको भनाई छ ।
यता, धनकुटामा युवतीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी २०८३ असोज ३ गतेदेखि ‘मिस धनकुटा–२०८३’ आयोजना हुने भएको छ ।
टिन्स क्रिउ डान्स सेन्टर एण्ड रिक्रिएसन मल्टिमिडिया एण्ड इन्टरटेन्मेन्ट धनकुटाको आयोजनामा हुने प्रतियोगिता सौन्दर्यमा आधारित नभई सहभागी युवतीहरूको व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, बौद्धिक विकास, सार्वजनिक वक्तृत्वकला, सामाजिक उत्तरदायित्व तथा सिर्जनशीलताको मूल्याङ्कन को आधारमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामार्फत धनकुटाको कला, संस्कृति, लोक परम्परा तथा पर्यटन प्रवर्द्धन गर्दै जिल्लाको सकारात्मक पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य लिइएको आयोजकको भनाइ छ । प्रतियोगितामा सहभागीहरूलाई सामाजिक अभियान, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, महिला अधिकार, लैङ्गिक समानता तथा समुदाय विकाससँग सम्बन्धित गतिविधिमा समेत सहभागी गराइने जनाइएको छ ।
प्रतियोगितामा सहभागी हुन १६ देखि २७ वर्ष उमेर समूहका, कम्तीमा ५ फिट २ इन्च उचाइ भएका, नेपाली नागरिकता प्राप्त तथा न्यूनतम एसईई ९कक्षा १०० वा सोभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेका युवती हुनपर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले १ लाख नगद, क्राउन, म्युजिक भिडियोमा अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २० हजार नगदसहित क्राउन, मेडल, प्रमाणपत्र तथा अन्य आकर्षक उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक एभेन्टोज रहेको छ भने धनकुटा नगरपालिका, स्थानीय वडा कार्यालयहरू तथा विभिन्न संघसंस्थाले सहयोग गर्ने आयोजक सस्थाका कार्यक्रम संयोजक योगीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस