धनकुटाबाट गाँजा प्रशोधन गर्ने हाइड्रोलिक प्रेस मेसिनसमेत बरामद

धनकुटा एफ. एम.
१२ साउन २०८३, मंगलबार

धनकुटा । धनकुटामा <span;>लागूऔषध (गाँजा) तयार गर्न प्रयोग हुने हाइड्रोलिक प्रेस मेसिनसहित गाँजा बरामद भएको छ ।

प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट लागू औषध गाँजा ओसारपसारम सहज बनाउन मिल्ने हाइड्रोलिक प्रेस मेसिन बरामद गरेको हो ।

प्रहरीका अनुसार गत साउन ८ गते राति करिब ११ः५५ बजे साँगुरीगढी गाउँपालिका वडा नं २, भाडेबुवा टोलमा चेकजाँचका क्रममा १०६ केजी गाँजा बरामद गरेको थियो । उक्त क्रममा प्रहरीले स्थानीय शिवराज लिम्बुले चलाएको को२ह ३२५ नम्बरको अटो र मदन यादवले चलाएको प्रदेश १–०२–००१ प ७४७१ नम्बरको पल्सर मोटरसाइकलबाट पाँचवटा बोरामा प्याक गरिएको ७१ किलो ३५ ग्राम गाँजा बरामद गरेको थियो ।

सोही घटनामा दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी अनुसन्धान भइरहेको अवस्थामा गाँजा प्रशोधन गर्ने मेसिन समेत बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारीले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा साँगुरीगढी गाउँपालिका वडा नं २ का ४० वर्षीय हर्क इवा (लिम्बु) को घरमा गाँजा तयार गर्ने मेसिन रहेको सूचना प्राप्त भएपछि प्रहरी टोलीले खानतलासी गरेको थियो । खोजतलासका क्रममा गाँजा तयार गर्न प्रयोग हुने फलामको हाइड्रोलिक प्रेस मेसिन बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

मेसिनका धनी हर्क इवा (लिम्बु) भने हाल फरार रहेका छन् । उनको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।