मानव अधिकार एलायन्सद्धारा देवानगञ्ज घटनामा स्वतन्त्र छानबिन र दोषीमाथि कारबाहीको माग

धनकुटा FM
११ साउन २०८३, सोमबार

धनकुटा । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च  (मानव अधिकार एलायन्स) कोशी प्रदेश समितिले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा दुई समूहबीच भएको झडपका क्रममा गोली लागेर दुई युवाको मृत्यु तथा अन्य व्यक्तिहरू घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मानव अधिकार एलायन्सले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यलायन्सका अधयक्ष निलबहादुर थापा र सचिव अर्जुन वास्तोलाद्धारा जारी विज्ञप्तीमा नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार, समानता, धार्मिक स्वतन्त्रता तथा सुरक्षाको मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै कुनै पनि परिस्थितिमा हिंसा तथा अत्यधिक बल प्रयोग मानव अधिकारका आधारभूत सिद्धान्त विपरीत हुने जनाएको छ ।

मञ्चले नेपाल सरकार, गृह प्रशासन, नेपाल प्रहरी तथा राष्ट्रिय मानव अधिकार आयोगसँग घटनाको स्वतन्त्र, निष्पक्ष र प्रभावकारी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, कानूनविपरीत कार्य गर्ने जोसुकैलाई कानूनबमोजिम कारबाही गर्न तथा पीडित र प्रभावित परिवारलाई उचित राहत, क्षतिपूर्ति, आवश्यक सुरक्षा र न्यायको सुनिश्चितता गर्न जोडदार माग गरेको छ ।

साथै सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा स्थानीय समुदायलाई अफवाह, घृणाजन्य अभिव्यक्ति र हिंसालाई निरुत्साहित गर्दै संयमता अपनाउन तथा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न आग्रह गरेको छ ।

मानव अधिकार एलायन्स, कोशी प्रदेश समितिले मानव अधिकार, सामाजिक न्याय, कानुनी शासन तथा दिगो शान्तिको पक्षमा सधैं प्रतिबद्ध रहने विश्वाससमेत व्यक्त गरेको छ ।