धनकुटाको सहिदभुमीबाट प्रतिबन्धित लागुऔषधसहित १ जना पक्राउ

धनकुटा FM
१२ साउन २०८३, मंगलबार

धनकुटा । प्रहरीले धनकुटाबाट प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

धनकुटाको शहीदभूमि गाउँपालिका–६ पानीटारबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित १८ वर्षीय एक युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पक्राउ पर्नेमा स्थानीय रविन राई रहेका छन् ।

उनको घरमा गरिएको खानतलासीका क्रममा ठूलो परिमाणमा प्रतिबन्धित औषधिजन्य लागूऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी आँखिसल्लाबाट प्रहरी सहायक निरीक्षक अजयकुमार राईको नेतृत्वमा खटिएको टोलीले सोमबार अपराह्न करिब ४ बजे राईको घरमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा प्रहरीले ट्रामोल–५० का ७५ पत्ता (७५० क्याप्सुल), डाइसाइक्लोमिन हाइड्रोक्लोराइड आईपी २० मिलिग्राम का ४६ पत्ता (४६० ट्याब्लेट) तथा डाइसाइक्लोमिन एचसीआई आईपी २० मिलिग्राम का ३७ पत्ता (३७० ट्याब्लेट) बरामद गरेको जनाएको छ ।

बरामद प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ ।  प्रहरीले घटनाबारे लागूऔषध नियन्त्रणसम्बन्धी प्रचलित कानुनअनुसार अनुसन्धान अघि बढाइएको जनाएको छ ।