राहदानी छपाइ तथा खरिद प्रकरण

अख्तियारको डरले मोबाइल अफ गरेर कहाँ फरार भए कांग्रेस नेता सिद्धार्थ थापा ?

धनकुटा FM
४ असार २०८३, बिहिवार

धनकुटा । यतिबेला राहदानी छपाइ तथा खरिद प्रकरणमा धनकुटा मुगामा थापाकाजी मुछिएपछि धनकुटाको राजनीति निक्कै गर्माएको छ ।

खासगरी पुर्ब प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका नाति र राष्ट्रिय सभा सांसद सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापा फरार भएसँगै धनकुटामा यो विषयले निक्कै चर्चा पाएको छ ।

राहदानी छपाइ तथा खरिद प्रकरणमा मुछिएका जर्मन कम्पनी म्युहलबाउर आईडी सर्भिसका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल पक्राउ परिसकेका छन् । तर सो प्रकरणमा मुछिएका नेपाली कांग्रेसको प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रित नेपाली कांग्रेस निर्वाचन व्यूरो सदस्यसमे रहेका सिद्धार्थ थापा यतिबेला फोन नम्बर अफ गरेर फरार भएका छन् ।

विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइका लागि गरिएको करिब ७ अर्ब ६५ करोड रुपैयाँको ठेक्का प्रकरणमा थापाले राजनीतिक आडमा करिब ६ अर्ब ५५ करोड रुपैयाँको ठेक्का पाएका थिए । उनी ‘भेरिडियस’ का नेपाल प्रतिनिधि हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार यस प्रकरणमा राहदानी विभागका लेखा अधिकृत तुलसीप्रसाद अर्याल र म्युहलबाउर आइडी सर्भिसका नेपाल प्रतिनिधि मनेन्द्र मल्ललाई नियन्त्रणमा लिई अदालतमा पेस गरिसकेको छ । पासपोर्ट छपाइको मुख्य ठेक्का पाउने भेरिडासका प्रतिनिधि सिद्धार्थ थापा भने फरार छन् । सोमबार बेलुका प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा सहभागी भएका उनी त्यसपछि मोबाइल स्विच अफ गरेर फरार छन् । उनलाई पक्राउ गर्न सिआइबीले प्रहरीलाई पत्राचार गरेको छ ।

के हो राहदानी छपाइ तथा खरिद प्रकरण ?
आठ महिनाभित्र राहदानी छपाइ सुरु गर्ने सम्झौता अनुसार गत वर्षको साउनमा राहदानी विभागले दुई जर्मन कम्पनीहरुमध्ये एक अर्ब ५५ करोडको ठेक्का म्युहलबाउर आइडी सर्भिस र ६ अर्ब ५५ करोडको ठेक्का भेरिडासलाई ठेक्का दिएको थियो । तर, ११ महिना हुँदासमेत ती कम्पनीले डेटा इन्टिग्रेसनको काम नै सकेका थिएनन् । जसकारण पासपोर्ट अभाव हुने निश्चिन भएपछि विभागसँग प्रधानमन्त्री कार्यालय रुष्ट बनेको थियो ।

हाल विभागसँग एक लाखभन्दा कम पासपोर्ट मौज्दात छ । जुन असार महिनालाई मात्र पुग्छ । ठेक्कामा भएको बदमासीकै कारण यो अवस्था आएको निष्कर्ष निकालेर प्रधानमन्त्रीको सचिवालयले यस विषयमा छानबिनका लागि अख्तियारलाई आग्रह गरेको थियो ।

प्रधानमन्त्री कार्यालयले ठेक्काका कागजपत्रसमेत मगाएर छानबिन गरेको थियो । जसमा त्रुटि नै त्रुटि फेला परेको र अर्काेतर्फ समयमा पासपोर्टसमेत नछापेपछि त्यससम्बन्धी छानबिनलाई तीव्रता दिन प्रधानमन्त्री बालेन शाहको सचिवालयले अख्तियारलाई निर्देशन दिएको थियो । सोहीअनुसार अख्तियारले विशेष टोली बनाएर दुई सातादेखि छानबिनलाई तीव्रता दिएको छ । त्यसकै परिणाम स्वरुप अख्तियारले थापालाई पनि बयानका लागि बोलाएको थियो ।

पहिलो चरणमा बयान दिएपछि थापा अहिले फोन अफ गरेर फरार भएका छन् । उनको ९८०११११… नम्बर अहिले अफ छ ।

टेण्डर अघि बढ्नासाथ पूर्व परराष्ट्रमन्त्री आरजु देउवा, उनका छोरा जयवीर, व्यवसायी मनिन्द्रराज मल्ल लगायत त्यतिबेला राष्ट्रपतिका राजनीतिक सल्लाहकार समेत रहेका सुनिलबहादुर थापा एवं केही व्यवसायीहरुले हस्तक्षेप गरेर अनियमितता गरेको भनी उजुरीहरु परेका थिए ।

तर टेण्डर प्रक्रियामा अहिलेसम्म राष्ट्रिय सभा सदस्यसमेत रहेका सुनीलबहादुर थापाको कागजी संलग्नता नदेखिए पनि उनका छोरा सिद्धार्थ थापाको भूमिकामाथि भने प्रश्न उठिरहेको छ ।

आफ्ना छोरालाई पक्राउ गर्न सिआइबीले प्रहरीलाई पत्राचार गरेपछि राष्ट्रियसभा सदस्यसमेत रहेका सुनीलबहादुर थापा शक्तिकेन्द्र धाउन थालेको स्रोतको भनाई छ । उनले प्रहरीका उच्च अधिकारीहरुसँगको सम्पर्क तीव्र बनाएका छन् ।