२५१ सदस्य बन्यो नेकपा धनकुटाको जिल्ला कमिटी, संयोजकमा कुसुम श्रेष्ठ
धनकुटा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति धनकुटाको २ सय ५१ सदस्य जिल्ला कमिटी घोषणा भएको छ ।
आज धनकुटामा आयोजित नेकपा धनकुटाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा कुसुम कुमारी श्रेष्ठको संयोजकत्वमा २ सय ५१ सदस्य जिल्ला समिति घोषणा गरिएको हो । जसको सह-संयोजकमा डिपलव राई, हेमचन्द्र किँराती र ओम प्रकाश निरौला रहनुभएको छ ।
गत २०८२ कार्तिक १९ गते तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका बामपन्थी घटकको एकतापछि नेपाली कम्युनिष्ट पार्टी बनेको थियो । केन्द्र र प्रदेशमा एकतापछि समिति गठन भइसकेको छ भने धमाधम जिल्लाहरुमा पनि एकता भइरहेको छ । सोही क्रममा आज धनकुटामा पनि एकता बैठकमार्फत् जिल्ला समिति घोषणा गरिएको हो ।
सो एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपाका प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले कोशी प्रदेशमा नेकपाले मुख्यमन्त्री दावी गर्ने बताउनुभयो । उहाँले पछिल्लो समयमा कांग्रेस र एमालेले आलोपालो प्रदेशको नेतृत्व गरिसकेकाले अब स्वभाविकै रुपमा नेकपाको दावी रहने बताउनु भयो ।
यहाँले वर्तमान सरकारले लोकतन्त्रका मूल्य र मान्यताको रक्षा गर्न नसकी एकात्मक, तानाशाही र निरंकुस हुँदै गएको आरोप लगाउनुभयो । बहुमतको दम्भले ग्रसित सिंहदरबारको राज्य सत्ताले प्रदेश र स्थानीय तहलाई बलियो नबनाई झन कमजोर बनाउन तिर लागेको उहाँको भनाई छ ।
नेकपा धनकुटा संयोजक कुसुम कुमारी श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा प्रदेश सह-इन्चार्ज परशुराम बस्नेत, प्रदेश संयोजक हर्क बहादुर नेम्बाङ ‘मिक्सो’, जिल्ला इन्चार्ज धर्मराज पौडेल, सह इन्चार्ज बिष्णुमाया कन्दङवा र आरपी बास्तोला लगायतको उपस्थिति रहेको प्रदेश कमिटी सदस्य सानु कार्की बस्नेतले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस