धनकुटाको चानुवामा विद्युत् सर्ट भएर आगलागी, पाँच लाख रुपैयाँ बराबरको क्षति

धनकुटा FM
२७ असोज २०८३, मंगलबार

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४, चानुवामा विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आज बिहान ९:१० बजे योगेश अधिकारीको टिनको छानो, काठपात र टिनकै बेराले बनेको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चानुवा, धनकुटाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर, घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न तथा सोही घरमा सञ्चालित कस्मेटिक पसलका विभिन्न सामान पूर्ण रूपमा जलेर नष्ट भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी जानकारी दिनुभयो ।

आगलागीबाट झण्डै ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।