शिक्षक आन्दोलनले धनकुटामा विद्यार्थी भर्ना अभियान प्रभावित, कक्षा १२ को परीक्षा हुन नसक्ने

धनकुटा FM
४ वैशाख २०८२, बुधबार

धनकुटा । शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ ।

सरकारले यही बैशाख १ गतेदेखि बैशाख १५ गतेसम्मका लागि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने गरेको छ । तर नेपाल शिक्षक महासंघले सरकारले विगतमा आफूहरूसँग गरेको सहमतिका बुँदा समेटेर विद्यालय शिक्षा विधेयक तयार गरी सदनबाट पारित गर्दै ऐन नबनाएसम्म आन्दोलन नरोक्ने बताइसकेको छ ।

विद्यार्थी भर्ना अभियान चल्न शुरु नहुँदै धनकुटाका शिक्षकहरु पनि आन्दोलनका लागि काठमाडौं गएका छन् । अहिले दिनहुँ शिक्षकहरु आन्दोलनमा सहभागी बन्न काठमाडौं गइरहेका छन् । धनकुटाबाट आजसम्म झण्डै ९० जना भन्दा बढी शिक्षकहरु काठमाडौं गइसकेको र काठमाडौं जानको संख्या पनि दिनहुँ बढिरहेको नेपाल शिक्षक महासंघ धनकुटाका अध्यक्ष गोविन्द राईले बताउनु भयो ।

शिक्षकहरु धमाधम आन्दोलनमा सरिक बन्न थालेपछि धनकुटाका कुनै पनि सामुदायीक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान शुरु भएको छैन । यतिसम्मकी भर्ना अभियानका बेला शिक्षकहरु दिनहुँ काठमाडौं जान थालेपछि भर्ना अभियान सञ्चालन गर्नसक्ने अवस्था नरहेको जिल्ला शिक्षा समन्वय इकाई धनकुटाका इकाई प्रमुख मोहन राईले बताउनु भयो ।

रेडियो धनकुटा एफएमसँग कुरा गर्दै राईले शिक्षकहरुको आन्दोलन चर्किँदै गएकाले राष्ट्रिय स्तरबाट समाधान नभएसम्म शिक्षकहरुलाई चलाउन सक्ने अवस्था नरहेको बताउनु भयो ।

अहिले देशभरका शिक्षकहरु जम्मा काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा दिनहुँ प्रदर्शन गरिरहेका छन् । मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार पारेको छ । तर शिक्षक महासंघले सरकारको विश्वास नगरेका कारण आन्दोलन झन चर्काउँदै गइरहेको छ ।

शिक्षक महासंघले आन्दोलन अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुन शिक्षकहरुलाई निर्देशन दिएपछि जिल्लाजिल्लाबाट शिक्षकहरु आन्दोलनमा सहभागी बन्न काठमाडौं गइरहेका छन् ।