झाडीमा परिणत भएको धनकुटाको ऐतिहासिक तल्लो टुँडिखेलमा सरसफाइ अभियान सुरु
धनकुटा । धनकुटाको ऐतिहासिक तथा जिल्लाकै पुरानो खेल मैदानका रूपमा परिचित तल्लो टुँडिखेल लामो झाडीले ढाकिएपछि आजदेखि सरसफाइ अभियान सुरु गरिएको छ ।
वर्षायामका कारण मैदानभरि झारपात र झाडी फैलिँदा खेल सञ्चालन गर्न कठिन हुनुका साथै स्थानीयले दैनिक प्रयोग गर्ने सार्वजनिक खुला क्षेत्रसमेत अव्यवस्थित बनेको थियो । यस अवस्थालाई मध्यनजर गर्दै जिल्ला खेलकुद विकास समिति, खेलप्रेमी तथा स्थानीयवासीको सहभागितामा मैदान सफा गर्ने अभियान आजदेखि शुरु भएको हो ।
धनकुटाको खेलकुद इतिहाससँग जोडिएको तल्लो टुँडिखेल विगतदेखि फुटबल, भलिबल, दौड लगायत विभिन्न खेलकुद गतिविधि तथा सामाजिक कार्यक्रम सञ्चालन हुने प्रमुख स्थलका रूपमा परिचित छ । तर वर्षा लाग्नासाथ नियमित संरक्षण, मर्मत तथा स्तरोन्नतिमा पर्याप्त ध्यान नदिँदा मैदानको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ।
मैदानको भौतिक पूर्वाधारसमेत कमजोर अवस्थामा पुगेको छ । खेल मैदान सम्याउने, घाँस तथा झारपातको नियमित व्यवस्थापन, पानी निकासको उचित प्रबन्ध, घेराबार, दर्शक बस्ने संरचनाको मर्मत तथा आवश्यक खेल सामग्रीको व्यवस्थापनमा पर्याप्त ध्यान नपुग्दा खेलाडीहरूले नियमित अभ्यास गर्न कठिनाइ भोग्दै आएका छन् । वर्षायाममा मैदान हिलाम्मे हुने र पानी जम्ने समस्याले प्रतियोगिता सञ्चालन गर्नसमेत चुनौती थपिएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईले सरसफाइ अभियानमा सहयोग गर्ने सबै संघसंस्था, खेलप्रेमी, स्थानीयवासी तथा सहभागीप्रति धन्यवाद व्यक्त गर्दै तल्लो टुँडिखेल धनकुटाको गौरवसँग जोडिएको सम्पत्ति भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो ।
उहाँले सरसफाइ अभियानमा विभिन्न क्षेत्रका व्यक्तिहरू र खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहे पनि खेलाडीहरूको उपस्थिति अपेक्षाअनुसार नभएको भन्दै दुःख व्यक्त गर्नुभयो । ‘खेल मैदानको सबैभन्दा बढी प्रयोग गर्ने खेलाडीहरू नै यस्ता अभियानमा अग्रसर हुनुपर्छ । मैदानको संरक्षण र सरसफाइमा खेलाडीहरूको सक्रिय सहभागिता आवश्यक छ’, उहाँले भन्नुभयो, ‘यो खेलमैदानको संरक्षणमा खेलाडी नै अग्रसर हुनुपर्छ ।’
अध्यक्ष राईले सरसफाइ अभियानलाई एकदिने कार्यक्रमका रूपमा सीमित नराखी तल्लो टुँडिखेलको नियमित संरक्षण, सरसफाइ, मर्मत तथा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि सम्बन्धित सबै निकायसँग समन्वय गरी काम अघि बढाइने जानकारी दिनुभयो ।
सरसफाइ अभियानमा शसस्त्र प्रहरी, नेपाली सेना, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्था लगायत स्थानीयको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस