रसुवा बाढीको कहर : सुने जस्तो छैन त्रिसुली र देवीघाट
कहिलेकाहीँ समाचारमा देखेको दृश्य र आफ्नै आँखाले देखेको दृश्यबीच ठूलो अन्तर हुन्छ भन्ने मलाई राम्ररी थाहा छ । टेलिभिजनको पर्दा, सामाजिक सञ्जाल र अनलाइनका समाचारमा रसुवा बाढीका दृश्यहरू लगातार आइरहेका थिए । बाढीले पु¥याएको क्षति, बेपत्ता मानिसहरू, उद्धारका लागि खटिएका सुरक्षाकर्मी र राहतका दृश्यहरू हेर्दा मन भारी हुन्थ्यो । त्यही भएर मेरो उद्देश्य रसुवा बाढीले पु¥याएको क्षति र पछिल्लो अवस्थाको अवलोकन गर्नु थियो । साथमा पीडित व्यक्तिहरूको अवस्था बुझ्नु, सरकारले उद्धारमा गरिरहेको काम र राहत वितरणको वास्तविक अवस्था जान्नु पनि थियो । तर कसरी जाने भन्ने मेसो मिलेको थिएन ।
भदौ १४ गते आइतबार बिहान ६ः४० बजेतिर प्रतिनिधिसभा सदस्य पार्वती विश्वकर्माले फोन गरेर ‘नुवाकोट जाऊँ, तुरुन्तै तयार भएर अनामनगर आउनुस् है’ भन्नुभयो । सुरुमा जानेजस्तो लागेको पनि थिएन । उहाँले पूर्वमन्त्री सत्या पहाडी दिदी पनि जाने कुरा सुनाउनु भएपछि भने म तुरुन्तै तयार भएर करिब ७ः१० बजे अनामनगर पुगेँ ।
माननीयज्यू त्यहाँ मलाई पर्खिरहनुभएको रहेछ । अरू साथीहरू पनि जाने कुरा थियो । करिब ७ः३० बजे देव बोहोरा आइपुग्नुभयो । उहाँले गाडी साढे ८ बजेमात्र आइपुग्ने जानकारी दिनुभयो । साथी पर्खिदाँ दिक्क लाग्न थाल्यो । त्यसबखत देव जीले केही त खानैपर्छ, भरे बाटोको भर हुँदैन भन्नु भयो । हामी खाजा खानतिर लाग्यौँ । त्यसै क्रममा नेकपाका केन्द्रीय सदस्य रामदीप आचार्य र प्रदेश कमिटी सदस्य चन्द्रा अधिकारी पनि आइपुग्नुभयो । साढे ८ बजेतिर बा ए ए १४७२ नम्बरको स्कार्पियो अनामनगर चोकमा आइपुग्यो र हाम्रो यात्रा सुरु भयो ।
गुरुजी नयाँ हुनुहुन्थ्यो, रुट नचिन्ने । त्यसैले अनामनगरबाटै हामीले ‘लेफ्ट, राइट’ भन्दै बाटो देखाउँदै चक्रपथको भाटभटेनीसम्म पु¥यायौँ । त्यहाँ पूर्वमन्त्री सत्या पहाडी कुरिरहनुभएको थियो । उहाँलाई लिएर हामी सामाखुसी चोक पुग्यौँ र त्यहाँ रविन्द्र खड्कालाई रिसिभ गरेर टोखा, झोर हुँदै नुवाकोटतर्फ लाग्यौँ । झोर कटेपछि दृश्य फेरिन थाल्यो । शहरको भीडभाड बिस्तारै पछाडि छुट्दै गयो । हरियाली, डाँडाकाँडा र चिसो मौसमले काठमाडौंको भीडभाड र कोलाहललाई बिर्साइरहेको थियो ।
काठमाडौँ र नुवाकोटको सिमाना पुग्दा त झन् रमाइलो लाग्यो । त्यसपछि ओरालो हुँदै नुवाकोटतर्फ लाग्यौँ । गुरुङ गाउँ नपुग्दैको हरियाली र घुम्ती सडक निकै मनमोहक थियो । प्रकृतिको त्यो सुन्दरता हेर्दै गर्दा हामी कुन उद्देश्यका लागि यात्रा गरिरहेका छौँ भन्ने कुरा केहीबेर बिर्सिएजस्तो पनि हुन्थ्यो ।
बीचमा आउने काक्रे डाँडामा केहीबेर विश्राम गर्ने कुरा भयो । सबैलाई शौचालय पनि जानु थियो । कसैले चिया पिए, कसैले रोटी–तरकारी खाए । यात्रामा यस्ता साना विश्रामले पनि छुट्टै आनन्द दिँदा रहेछन् । फेरि हामी उही घुम्ती बाटो हुँदै ओरालै ओरालो लाग्यौँ ।
ढिकुरे बजार पुगेपछि कुराकानीको विषय पनि गम्भीर हुँदै गयो । घरिघरि राजनीति, घरिघरि बाढी–पहिरो । बाटोमा देखिने दृश्य र हामीले सुन्दै आएका खबरहरूबीच तुलना हुन थाल्यो । माननीय पार्वती विश्वकर्माको मोवाइल लगातार बजिरह्यो । उहाँ ‘एकछिन् है, म कुरा गर्दैछु’ भन्दै घरी सभामुखका पिए, घरी सेनाका प्रमुखसँग आक्रोस पोखिरहनु भएको थियो । यसरी कुरा गर्दै जाँदा हामी बट्टार बजार पुग्यौँ ।
नेपाली सेनाको ब्यारेक नजिक पुग्दा गाडीका ताँती थिए, मान्छेको भीड उत्तिकै । विपत्तिले एउटा ठाउँमा कति धेरै मानिसलाई एकैपटक जम्मा गराउँदो रहेछ भन्ने त्यहीँबाट अनुभूति हुन थाल्यो । त्यहाँ रहेको एउटा होटलमा जाजरकोटको शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाही भेटिनुभयो । उहाँ त्रिसुली हाइड्रो पावरमा काम गर्दै गर्दा रसुवा बाढीमा बेपत्ता भएका आफ्ना छोरा महेन्द्र विक्रम शाहीको खोजीका लागि आउनुभएको रहेछ । उहाँको अनुहारमा देखिएको पीडा शब्दमा बयान गर्न कठिन थियो । आफ्ना कुरा पनि राम्रोसँग भन्न नसक्ने अवस्थामा पुग्नुभएको रहेछ । उहाँ आफैँ इन्जिनियर हुनुहुन्छ, गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । तर त्यो क्षण उहाँ यी कुनै परिचयभन्दा माथि एउटा बुबा मात्र हुनुहुन्थ्यो– आफ्नो हराएको छोरा खोजिरहेको विवश बुबा । उहाँको माग पनि ठूलो थिएन । छोरा भेटिएला वा नभेटिएला, तर छोरा कस्तो ठाउँमा हराएछ, कहाँ पुगेछ भनेर खोजिदिनुप¥यो भन्ने थियो । त्यसका लागि सेना, प्रहरी र विभिन्न ठाउँमा गुहार मागिसक्नुभएको रहेछ । तर सुनुवाइ नभएपछि निरास भएर होटलमा छट्पटी रहनुएको रहेछ ।
करिब आधा घण्टा त्यहाँ बसेपछि हामी डेढ सय मिटरजति पर रहेको नेपाली सेनाको ब्यारेकतर्फ लाग्यौँ । त्यहाँ राष्ट्रियसभा सदस्य श्रीकष्ण अधिकारी, पूर्व प्रतिनिधिसभा सदस्य विमला सुवेदी, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राधिका तामाङसँग भेट भयो । हामी सबै ब्यारेकभित्र गयौँ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रेग्मीलाई भेटेर भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण अलपत्र अवस्थामा रहेका जाजरकोट र सुर्खेतका पाँच जनाको सकुशल उद्धारका लागि पहल गर्न थाल्यौँ । त्यसपछि हामी कहिले हेलिकप्टर ल्याण्ड हुने ठाउँमा पुग्थ्यौँ, कहिले ब्यारेकको होल्डिङ सेन्टरमा । त्यहाँ सेना र प्रहरीका उच्च अधिकारीहरू थिए । रास्वपाका सांसदहरू पनि थिए । आफ्ना जिल्लाका नागरिकको उद्धारका लागि पहल गरिदिन अनुरोध गर्ने र आवश्यक समन्वय मिलाउने काममा माननीय पार्वती विश्वकर्मा निकै सक्रिय हुनुहुन्थ्यो । त्यसमा पूर्वमन्त्री सत्या पहाडीको भुमिका उच्चस्तरकै थियो ।
सुरक्षाकर्मीहरू पनि निरन्तर खटिरहेका थिए । उनीहरूको फोन उठाउनेदेखि उद्धार र व्यवस्थापनसम्मको धपेडी हेर्दा काम निकै चुनौतीपूर्ण रहेको महसुस हुन्थ्यो । अन्ततः निकैबेरको हारगुहारपछि भदौं १० गते भोटेकोशी नदीमा बाढी आएपछि बेपत्ता भएका जाजरकोटको भेरी नगरपालिका वडा नं. ९ का मोहनलाल पुन, जाजरकोटको भेरी नगरपालिका वडा नं. ९ कै हिद्रबहादुर पुन, नलगाढ नगरपालिका वडा नं. ९ का अशोक थापा, सुर्खेतको लेकबेसी नगरपालिका वडा नं. ३ का जयबहादुर दर्लामी र वीरबहादुर विर्कट्टाको बाढी आएको ५ दिनपछि रसुवाको स्याप्रुवेसीको रुङ्गाबाट उद्धार भएको खबर आयो । त्यो खबरले वातावरण नै केहीबेर खुसी भयो । माननीय पार्वती विश्वकर्मा खुसी हुँदै नेपाली सेनाकी महिला अधिकृतसँग अंकमाल गर्न थाल्नुभयो । विपत्तिको बीचमा पाँच जनाको जीवन सुरक्षित भएको त्यो क्षण साँच्चिकै खुसीको क्षण थियो ।
हामी सेनाको ब्यारेकको माथिल्लो भागमा रहेको हेलिप्याडतर्फ लाग्यौं । त्यहाँ दिलिप थापा, कृष्ण कँडेल, नारायण गिरी लगायतका नेपाली पत्रकार साथीहरूसँग पनि भेट भयो । त्यहाँ पत्रकारहरूको भीड उस्तै थियो । नेपाली पत्रकारसँगै विदेशी पत्रकारहरू पनि हेलिकप्टर आउने प्रतीक्षामा बुम र क्यामेरा तेस्र्याएर बसिरहेका थिए । एकातिर ब्यारेकको होल्डिङ सेन्टरमा रहेकाहरू आफ्ना पीडा सुनाइरहेका थिए । कसैको परिवार सम्पर्कमा थिएन, कसैको घर–सम्पत्ति बाढीले बगाएको थियो ।
करिब दुई घण्टा ब्यारेकमै बित्यो । बाहिर सडकमा बाइक र गाडीको पार्किङले मान्छे हिँड्नसमेत समस्या थियो । त्यहाँ आउने–जाने मानिसको चहलपहल भने रोकिएको थिएन । सडकमा ट्राफिकलाई गाडी व्यवस्थापनमा निक्कै सकस भइरहेको देखिन्थ्यो ।
हामी त्रिशूली बजारतर्फ अघि बढ्यौँ । त्रिशूली बजार पुग्दा मन फेरि भारी भयो । धेरै संरचना भत्किएका थिए । सरकारी कार्यालय रहेको स्थान बालुवाले छोपिएको थियो । कतिपय ठाउँमा बजारको नामोनिसाना नै नरहेको जस्तो देखिन्थ्यो । सुरक्षाकर्मी र केही मानिसहरू राष्ट्रिय वाणिज्य बैंकबाट बचेका सामानहरू निकालिरहेका थिए । डोजरको सहायताले बाटो र भत्किएका संरचना पन्छाएर मान्छेहरू छन् कि भनेर खोजिँदै थियो ।
चारैतिर बाढीले छाडेको विनाशको छाप थियो । त्रिशूली नदी एकतमासले उर्लिरहेको थियो । गर्मी उस्तै थियो । नदीको किनारतिर नराम्रो गन्ध आइरहेको थियो । तर त्यहीँ मानिसहरू फोटो र भिडियो खिच्न व्यस्त थिए । कसैले समाचारका लागि दृश्य कैद गरिरहेका थिए, कसैले मोबाइलमा त्यो कहालीलाग्दो अवस्था सुरक्षित गरिरहेको थियो । त्यहाँ पत्रकार रोयल आचार्य पनि भेटिनुभयो । केहीबेर कुराकानी भयो ।
करिब डेढ घण्टा त्रिशूलीको अवस्था अवलोकन गरेपछि हामी फेरि बट्टारको हावा घरतर्फ फर्कियौँ । हाम्रो अर्को गन्तव्य देवीघाट थियो । देवीघाटबारे धेरै सुनिएको थियो । तर सुनेजस्तो रहेनछ देवीघाट । त्यहाँ पुगेपछि बाढीको वास्तविक कहर आँखैअगाडि उभियो । हाइड्रोपावर, कार्यालय, मन्दिर, घाट, घर—धेरै संरचना सग्ला थिएनन् । ताँदी खोलाले गल्छी जोड्ने पुल पनि भत्काएको थियो । एउटा डोजर घाटतर्फ जाने पुरानो बाटो खोलिरहेको थियो । मानिसहरूको ओहोरदोहोर उस्तै थियो । देश–विदेशका पत्रकार र युट्युबरहरू त्यहाँ पुगेका थिए । सर्वसाधारण नागरिक पनि मोबाइलमा ती भग्नावशेषका दृश्य कैद गरिरहेका थिए । नेपाल विद्यार्थी संघका केही युवाहरू एउटै रङको ड्रेस लगाएर स्वयंसेवकका रूपमा आइपुगिरहेका थिए । सडकभन्दा माथितिर रहेकाले प्रहरी चौकी भने ठूलो क्षति नभएको रहेछ । पृथ्वीनारायण शाहको शालिक पनि सुरक्षित रहेछ । तर त्यस वरिपरिका दृश्यले मनलाई भने सहज हुन दिँदैनथे । गर्मी निकै थियो, सहनै गाह्रो हुने ।
देवीघाट मैले सुनेकोभन्दा फरक पाएँ । त्यहाँ बाढीले संरचना मात्र बगाएको थिएन; धेरै परिवारको सहज जीवन बगाएको थियो, धेरैको सपना बगाएको थियो, कसैको खुसी बगाएको थियो । कतिपय परिवार अझै आफ्ना मानिस फर्कने आशामा छन् । त्यसैले यो यात्रा मेरो लागि नुवाकोट जाने र फर्किने सामान्य यात्रा रहेन । यो विपत्तिलाई नजिकबाट हेर्ने यात्रा थियो, पीडितको पीडा सुन्ने यात्रा थियो र राज्यको उद्धार प्रयासलाई आफ्नै आँखाले नियाल्ने यात्रा थियो ।
केही वर्ष अघि देखेको देवीघाटको याद मथिंगलमा घुमिरह्यो । बाढीले छाडेका अवशेष र विनाश हेर्दै करिब डेढ घण्टा बितेपछि हामी फर्किन थाल्यौँ । फर्कने क्रममा रामदीप आचार्यलाई बाटोमा देखेको अम्बा खान मन लागेको रहेछ । मन त अरूलाई पनि लागेको थियो । पोष्टबहादुर बोगटी पार्कतर्फ जाने कुरा भयो, तर त्यहाँ नपुग्दै हामी सुकुमान तामाङ लगायतले सञ्चालन गरेको कृषि फर्मतर्फ मोडियौँ । फर्ममा पुग्नासाथ सबैले खपाखप एउटा–एउटा अम्बा खान थाल्यौँ । केहीबेर मिठा–मिठा गफ भए । करिब ८२ रोपनी क्षेत्रफलमा १० हजारभन्दा बढी अम्बाका बिरुवा रोपिएको रहेछ । हामीले प्रतिकिलो १५० रुपैयाँका दरले अम्बा किन्न थाल्यौँ । मैले पनि किनेँ । दिनभरि बाढी र पहिरोको पीडा देखेर थाकेको शरीर र मनलाई केहीबेर अम्बाको मिठासले राहत दियो । यात्रामा कहिलेकाहीँ यस्तै साना कुराले पनि थकान बिर्साइदिँदा रहेछन् ।
हामी फेरि बट्टार बजारतर्फ फर्कियौँ । त्यहाँ मलाई विकास नेपालीले कुरिरहेका थिए । उनी रसुवा बाढी–पहिरोमा बेपत्ता भएका राष्ट्रिय दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष राजकुमार नेपालीका सहोदर भाइ रहेछन् । मैले राजकुमारको परिवारसँग भेटघाट गर्न केही दिनदेखि नै प्रयास गरिरहेको थिएँ। विकास भाइमार्फत परिवारसँग भेट भयो । सोही जिल्लाकी माननीय बिमला पौडेल, प्रतिनिधिसभा सदस्य पार्वती विश्वकर्मा, पूर्वमन्त्री सत्या पहाडी लगायतले परिवारलाई सान्त्वना दियौं । राजकुमार कहाँ छन् भन्ने प्रश्नको उत्तर अझै अनिश्चित थियो । परिवारको आँखामा पर्खाइ थियो । विपत्तिको सबैभन्दा पीडादायी पक्ष सायद यही हो—कहिलेसम्म पर्खनुपर्ने हो भन्ने थाहा नहुनु ।
जाजरकोटको शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाही बसेको होटलमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि भेटिनुभयो । उहाँ रसुवा पुगेर हेलिकप्टरमै बट्टार आउनुभएको रहेछ । उहाँसँग पनि त्यहाँको अवस्थाबारे जानकारी लियौँ । उहाँको कुरा सुन्दा रसुवा झनै दर्दनाक छ, पीडादायी छ । नुवाकोटलाई त सबैले देखे, रसुवालाई कमैले देखेका छन् ।
समय बितिसकेको थियो । हामी भारी मन बोकेर काठमाडौँ फर्कियौँ । टोखा आइपुगेपछि फेरि गुरुजीलाई बाटो देखाउन ‘लेफ्ट, राइट, लेफ्ट, राइट’ भन्दै गर्दा हामी आफैँ बाटो भुल्यौँ । बल्लतल्ल ग्राण्डी अस्पताल आइपुग्यौँ । त्यसपछि बाटो सोझियो । केहीबेरपछि हाम्रो गन्तव्य आयो । गाडीबाट ओर्लिएपछि यात्रा सकियो, आफ्नो गन्तव्यमा पुगेपछि हामी ओर्लियौँ । तर दिनभरि आँखाले देखेका दृश्यहरू भने मनबाट ओर्लिएनन् । बाटोमा धेरै कुरा खेले । सरकारले योपटकको विपत्तिमा कामै नगरेको पनि होइन । सेना, प्रहरी, स्थानीय प्रशासन र सम्बन्धित निकायका मानिसहरू उद्धार र व्यवस्थापनमा खटिरहेको आफ्नै आँखाले देखियो । कतिपय अवस्थामा उनीहरूको काम प्रशंसा गर्नलायक पनि थियो । तर भनेजस्तो काम गर्न नसक्दा सरकारमाथि धेरै आलोचना भएको पनि सत्य हो । मैले पनि मनमनै कतै आलोचना गरेँ, कतै प्रशंसा गरेँ । विपत्तिको समयमा राज्यको उपस्थिति अझ प्रभावकारी, छिटो र संवेदनशील हुनुपर्ने अपेक्षा स्वाभाविक हो ।
त्रिशूली र देवीघाटबाट फर्किएपछि मेरो मनमा अर्को प्रश्न पनि गडेर बसेको छ । त्रिशूली नदीको किनारमा अझै दुर्गन्ध फैलिरहेको छ । बाढीले बगाएका संरचना, फोहोर र अन्य अवशेषका कारण वातावरण अस्वस्थकर बन्दै गएको देखिन्छ । त्यहाँ पुग्ने धेरै मानिसहरू बिना मास्क त्यहीँ उभिएर फोटो र भिडियो खिचिरहेका थिए । बाढीको पानी घटेपछि हाम्रो ध्यान उद्धार र राहतमा स्वाभाविक रूपमा केन्द्रित छ । तर बाढीले छाडेर गएको फोहोर, दुर्गन्ध र अस्वस्थ वातावरणले अर्को स्वास्थ्य संकट निम्त्याउँदैन भन्ने सुनिश्चितता कसले गर्ने ? विपत्ति एउटा घटनासँगै सकिँदैन रहेछ । त्यसले छाडेर गएको असर लामो समयसम्म रहन्छ । घर भत्किएपछि घर बनाउनुपर्छ, बाटो भत्किएपछि बाटो बनाउनुपर्छ । तर मानिसको मनमा परेको चोट निको पार्न अझ धेरै समय लाग्छ ।
सबैभन्दा ठूलो कुरा, यो यात्रा फर्किएपछि पनि मनमा एउटा प्रश्न छाडेर गयो—हामी विपत्ति हेरेर मात्र फर्कन्छौँ कि विपत्तिबाट केही सिकेर पनि फर्कन्छौँ ?
यो यात्राले समाचारमा देखिने विपत्तिको दृश्यभन्दा वास्तविक पीडा धेरै गहिरो र जटिल हुने कुरा अनुभूत गरायो । उद्धार र राहतमा सेना, प्रहरी, स्थानीय प्रशासन तथा नागरिकको सक्रियता देखिए पनि समन्वय, शीघ्रता र संवेदनशीलतामा अझ सुधार आवश्यक देखियो । बाढीपछि फैलिएको फोहोर, दुर्गन्ध र स्वास्थ्य जोखिमले विपत्ति उद्धारपछि पनि जारी राख्नुपर्ने अवस्था छ । त्यसैले प्रभावित संरचनाको पुनर्निर्माणसँगै बेपत्ता परिवारको खोजी, पीडितको मानसिक सहारा, वातावरणीय सरसफाइ र दीर्घकालीन पुनस्र्थापनालाई पनि प्राथमिकता दिनुपर्छ । रसुवा बाीपछि देवीघाटको कहरले हामीलाई विपत्तिको सामना मात्र होइन, त्यसबाट सिकेर भविष्यमा अझ सुरक्षित, जिम्मेवार र मानवीय समाज निर्माण गर्नुपर्ने पाठ दिएको छ ।






प्रतिक्रिया दिनुहोस