भत्कियो सत्ता गठबन्धन ०७९ पुस १० को अवस्थामा कम्युनिष्ट गठबन्धन ब्युँत्याउने प्रयास
काठमाडौं,२१ फागुन । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।
आइतबार रातिसम्म चलेको एमाले र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ ।
नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सोमबारै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् ।
नेताहरूका अनुसार आइतबार राति भएको दलहरूको छलफलमा कांग्रेससँगको गठबन्धन नरहने प्रधानमन्त्री प्रचण्डले नै सङ्केत गरेपछि एमाले र माओवादी नयाँ समीकरणको गृहकार्यमा बिहानैबाट जुटेका छन् । सोही अनुसार आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्न एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच छलफल हुँदैछ । स्रोतका अनुसार पुस १० को गठबन्धन ब्युँत्याउने प्रयास भए पनि राप्रपालाई सहभागी गर्ने नगर्नेबारे निश्चित भैसकेको छैन ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस