स्थानीयले बाटो छेकेरै गरे धनकुटामा ईभी चालक महिलालाई सम्मान

धनकुटा FM
१५ साउन २०८३, शुक्रवार

धनकुटा । धनकुटामा इलेक्ट्रिक गाडी (ईभी) चालक महिलालाई सम्मान गरिएको छ ।

सहिदभूमि गाउँपालिकला वडा नं. ४ घर भई लामो दूरीको सवारी चलाउने कुशला राई धनकुटाकी एक मात्रै महिला हुनुहुन्छ । उहाँलाई धनकुटा नगरपालिका वडा नं. ६ नम्बर वडा कार्यालय र मार्गेश्वरी टोल विकास संस्थाले संयुक्तरूपमा ईभी चालक राईलाई सम्मान गरेका हुन् ।

चालक राईलाई धनकुटा नगरपालिका वडा नं. ६ स्थित गोठ गाउँमा ईभी गाडी रोकेर स्थानीयले फूलमाला र अबिर लगाएर प्रंशसा-पत्रले सम्मान गरेका थिए । दैनिक लामो दूरीमा सवारी चलाउँदै आउनुभएकी राईलाई थप हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको मार्गेश्वरी टोल विकास संस्था धनकुटाकी अध्यक्ष तथा धनकुटा नगर कार्यापालिका सदस्य रेजिना हिङमाङले जानकारी दिनुभयो ।

चालक राईले दैनिक धनकुटाको महालक्ष्मीस्थित चानुवा डाँडागाउँबाट लेगुवा, पाख्रीबास, हिले, धनकुटा र धरान हुँदै इटहरीसम्म ईभी चलाउँदै आउनुभएको छ । उहाँले करिब २ वर्षदेखि गाडी कुदाउन थाल्नुभएको थियो । लामो दूरीमा भने एक महिनादेखि निरन्तर सवारी चलाइरहनु भएको छ ।