सत्ताच्युत भएपछि नयाँ रणनीति बनाउँदै कांगेस
काठाडौं,२४ फागुन । एक वर्षमै सत्ता गठबन्धनबाट बारिन पुगेको संसदको जेठो दल नेपाली कांग्रेसले नयाँ रणनीतिक योजना बनाउन विभिन्न छलफलमा जुटेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा धोका दिएर एमालेसहितको गठबन्धन सृजना गरेसँगै सशक्त प्रतिपक्षको भुमिकामा बस्ने निर्णय गरेको कांग्रेसले सोमबारदेखि संसदका साना राजनीतिक दलहरुसँग छलफल गरेको हो ।
मंगलबारबाटै बैकल्पीक गठबन्धनको प्रयासमा लागेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार मधेश केन्द्रित तीन दलका अध्यक्षले एकसाथ छलफल गर्नुभयो । छलफलमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले एकसाथ देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । छलफलमा उनीहरुले सरकारमा सहभागी हुने कुरा प्राथमिकतामा नपरेको बताएका छन् ।
मंगलबार सभापति देउवाले नेकपा एसका अध्यक्ष माधव नेपाललाई भेटेर सरकारमा तत्काल सहभागि नहुन आग्रह गर्नुभएको थियो । कांग्रेसले विकल्प गठबन्धनका लागि साना दलहरूसँग संवाद थालेको नेताहरुले बताएका छन् । देउवा निवासमा भएको मधेशवादी दलसँगको छलफलमा कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा नेता, शेखर कोइराला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । एमाले र माओवादीसहितको नयाँ गठबन्धन बनेपछि सत्ता विमुख भएको कांग्रेसले जनमत, लोसपा र नाउपा हुदै राप्रपासँग पनि संवाद गर्ने योजनामा छ । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले पनि राष्ट्रवादी लोकतान्त्रिक गठबन्धन बनाएर जान आफूहरू तयार रहेको बताउनुभएको छ ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस