प्रचण्डलाई कतिखेर कुन विदेशीले धाप मार्दा कता बुर्लुक्क उफ्रिनुहुन्छ थाहै हुँदैन -सीके राउत
काठमाडौं,२४ फागुन । काठमाडौं,२४ फागुन, । जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्त समीकरण फेरिनुमा विदेशी शक्तिको भूमिका रहेको दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै राउतले अहिले गठबन्धन फेरिनुको कारण प्रधानमन्त्री दाहालको अविश्वसनीय चरित्र र विदेशी शक्तिको भूमिका रहेको बताएका हुन् । यसमा प्रधानमन्त्रीले नै गहिरो कारण दिन नसकेको भन्दै उनले बहुमत पुग्ने शक्ति जम्मा पारेर नयाँ गठबन्धन निर्माण गर्नुलाई भ्यागुते प्रवृत्तिको संग्या दिए ।
नेता राउतले भने, ‘बरु भ्यागुतोलाई समातेर जोख्न सजिलो होला तर अहिलेको सम्मानननीय प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नुहोला, कतिखेर कुन विदेशीले धाप मारिदिन्छ, कता बुर्लुक्क उफ्रिनुहुन्छ थाहै हुँदैन ।’ उनले प्रधानमन्त्रीको यस्तो उफ्राइले संघीय सरकार मात्र नभई सातवटै प्रदेश सरकार ढल्ने सम्भावना बढेको र त्यसको घाटा देश र जनताले ब्यहोर्नुपरेको बताए । ‘अझ उहाँ गर्वका साथ भन्नुहुन्छ म मिस्टर उथलपुथल हो’, राउतले भने ।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको गठबन्धन बनाउनुमा प्रधानमन्त्रीले दिएको तर्क लाजमर्दो भएको राउतले बताए । ‘एउटा दुईवटा कुर्सी नमिलेर, राष्ट्रियसभा चुनावमा भोट नआएर पो रहेछ’, उनले भने, ‘सैद्धान्तिक धरातलमा टेकेर हुँदै रहेछ भन्ने लागेको थियो, एउटा दुईवटा कुर्सीमा नमिलेर पो रहेछ ।’

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस