मन्त्री श्रेष्ठ र बस्नेतमाथि सांसदहरुको झापड–‘तपाईं मात्रै मन्त्री बन्नुपर्ने ?’

धनकुटा एफ. एम.
२८ फागुन २०८०, आइतबार

काठमाडौं,२७ फागुन । सत्ता नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रमा सरकारमा पठाएका मन्त्रीका विषयमा तीव्र असन्तुष्टि जाहेर भएको छ । पुराना मन्त्री दोहोरिएको विषयलाई लिएर पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको हो । शनिबार बसेको पार्टीको संसदीय दल बैठकमा मन्त्री नियुक्तिको विधि प्रक्रियाबारे गम्भीर प्रश्न उठेको नेकपा माओवादी केन्द्रका एक नेताले बताए ।

उनले भने–‘ सांसदहरूले यसअघि केन्द्रीय कमिटीले या केन्द्रीय कमिटीको सहमतिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरू नियुक्त गर्दै आएको भए पनि यसपालि भने मन्त्रीहरू स्वयंले आफैंलाई नियुक्त गरेकोमा असन्तुष्टि पोख्नुभयो । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतप्रति सांसदहरु बढी आक्रोशित हुनुभयो ।’
सांसद माधव सापकोटाले पटक पटक दोहोर्याइरहने मन्त्रीहरुका विषयमा खरो असन्तुष्टि व्यक्त गरेका हुन् । ‘तपाईं खाइरहनूहोस्, सधैं मन्त्री खाइरहनूहोस् । तपाईं मन्त्री खानकै लागि जन्मिनुभएको रहेछ,’ बैठकमा सांसद माधव सापकोटाले मन्त्री श्रेष्ठलाई भने ‘तर म चुनौती दिन्छु, देशको जुनसुकै ठाउँबाट भए पनि एक पटक चुनाव जितेर देखाउनुस् ।’ एक जनाले अवसर पाइरहँदा ‘जनयुद्ध’ लडेर आएकाहरूको अपमान भएको सापकोटाको दाबी छ ।

‘मेरो घरमा तीन जना सहिद छन्, हाम्रो सापकोटा परिवारबाट ८ जना, गाउँभरिमा २२ जना सहिद छन् । मेरो गाउँमा माओवादीको जनाधार सबैभन्दा बलियो छ। मलाई नपाएर अब्जेक्सन ग¥यो भन्नुहोला अहिले पनि सांसदबाट राजीनामा दिएर पार्टी राजनीतिमा लाग भन्नुहुन्छ भने तयार छु,’ सापकोटाले भने, ‘तर भएका विधि पद्धतिलाई मिचेर घुर्की देखाउने, धम्की दिने र बार्गेनिङ गर्नेलाई मन्त्री बनाउन थालियो। यस्तो विधि पार्टीमा कहाँ छ ?’ त्यसपछि पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले ‘जनयुद्ध लडेको र नलडेको भनेर छुट्याउन नहुने’ बताएका थिए । ‘अध्यक्ष कमरेड, सधैं जनयुद्ध लडेको र नलडेको भनेर भेद गरेको मलाई मन परेको छैन, पार्टीमा सबैको आ–आफ्नो भूमिका र योगदान छ,’ श्रेष्ठले भने ।
फेरि सापकोटा बोले । उनले श्रेष्ठलाई धेरै आक्रोशित नभएर धैर्यपूर्वक कुरा सुन्न आग्रह गरेका थिए । ‘वरिष्ठ उपाध्यक्ष कमरेड, तपाईं मेरो नेता पनि हो,’ सापकोटाले भनेका थिए, ‘बहसको सुरूआत भयो राम्रै भयो भनेर भन्नुभएको छ । अहिले एक्कासि आक्रोशित नहुनूस्, संयमतापूर्वक जवाफ दिनूस् ।’

सापकोटाले मात्रै होइन अरू सांसदहरूले पनि अहिले मन्त्रिपरिषद् पुनर्गठनमा उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठ दोहोरिनु उपयुक्त नरहेको बताए । सांसद मायाप्रसाद शर्माले नेकपा (एमाले) का विष्णु पौडेलले छोड्न हुने तर श्रेष्ठले छोड्न नहुने कारण के हो भनेर सोधेका थिए ।
‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेललाई मन्त्री बन्न आग्रह गर्दा पनि अहिले साथीहरूलाई मौका दिन्छु भनेर छोड्नुभयो,’ उनले भने, ‘तर हाम्रा वरिष्ठ उपाध्यक्षज्यू गृह मन्त्रालय छोडेर परराष्ट्रमा गएर भए पनि मन्त्री बन्नुभयो । तपाईं किन गृह छोडेर परराष्ट्र मन्त्रालय पुग्नुभएको हो ?’

उनले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बस्नेतमाथि पनि प्रश्न गरे । ‘जाजरकोटमा, कर्णालीमा अरू नेताहरूको पनि योगदान छ । तर बस्नेतजीको के त्यस्तो विशेषता छ र सधैं उहाँ मन्त्री हुनुपर्ने,’ शर्माले भनेका थिए, ‘एक वर्षसम्म मन्त्री हुँदा शक्तिजीले के काम गर्नुभयो ?’ सांसद अमनलाल मोदीले सुदन किरातीलाई मात्रै किन सरकारबाट निकालेको भनेर प्रश्न गरे । ‘संसारभर बलिमा चढाउने कमजोरहरूलाई मात्रै हो । हाँस, कुखुरा, बाख्रालाई मात्रै बलिमा चढाएको देखिएको छ । बाघ र सिंहलाई कहिल्यै बलि चढाइएको छ र ?’ मोदीले भनेका थिए, ‘तपाईंहरू सिंह हो सधैं सत्तामा बसिरहनूस् ।’ सांसद सूर्यमान दोङले विधिबिना मन्त्रीहरू छान्ने पार्टीको पछिल्लो निर्णयले केही मान्छे मन्त्री बने पनि पार्टी भने नबन्ने बताएका थिए ।